कांग्रेससँग ३० प्रतिशत मात्रै मत छ, गठबन्धनलाई चुनावसम्म लैजानुपर्छ- रामचन्द्र पौडेल

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सत्ता गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका छन्। पोखरामा नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यालयको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेले कांग्रेसँग ३० प्रतिशत मात्र भएको उल्लेख गर्दै गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने बताएका हुन्।

‘कांग्रेससँग ३० प्रतिशत मात्र मत छ। कांग्रेसबाहिरको ७० प्रतिशत मत एकै ठाँउमा गएमा के हुन्छ? संविधानमा भएको समावेशी व्यवस्थाका कारण कुनै पनि पार्टीको बहुमत आउँदैन। त्यसकारण सरकार चलाउनका लागि पनि अरु पार्टीसँग गठबन्धन गर्नै पर्छ,’ नेता पौडेलले भने, ‘गठबन्धनको संस्कृतिको विकास गर्न आवश्यक छ। राष्ट्रियसभा ३ जना थिए। अहिले गठबनधन मिल्दा ६ जना सदस्य पाएको उपलब्धि हो कि होइन?’

आफू निर्णय गर्न सक्ने गरी कुनै पनि मुख्य पदमा नभएको भन्दै नेता पौडेलले जनतामा आशा जगाउने र सन्देश दिएर कांग्रेसलाई अन्तर्घातबाट बचाउनेबारेमा नेतृत्वले सोच्नुपर्नेसमेत उल्लेख गरे।

‘कांग्रेसका अगाडि ठूलो चुनौतीको पहाड छ। अबको चुनौतीको पहाड भनेको आगामी चुनाव हो। ती चुनावमा जनतमा कसरी आशा जगाउने यो बारेमा पदाधिकारीहरुले सोच्न जरुरी छ,’ पौडेलले थपे, ‘म अहिले उत्तर दिने ठाँउमा छैन्। उत्तर दिने ठाँउमा भएका पार्टीका पदाधिकारी साथीहरुले जनतालाई आशा जगाउने सन्देश के दिने हो र कांग्रेसलाई अन्तर्घातबाट कसरी बचाउने हो सोच्नु होला।’

इतिहासमा रछ्यानमा फ्याँकिएका तत्वले संविधानलाई गिज्याउन थालेका बताउँदै कांग्रेस र अहिले सत्तामा रहेको दलहरु यो संविधान र यो व्यवस्थाको पक्षमा चट्टान जस्तै उभिनुपर्ने पौडेलको तर्क थियो।

पौडेलले मुलुकलाई असफल हुनबाट रोक्न प्रधानमन्त्री, गठबनधनका नेताहरु र प्रमुख विपक्षी दलका नेता केपी ओलीलाई समेत आफूले आग्रह गरेको बताए।

कमेन्ट गर्नुहोस्