म्यानपावर वर्गीकरण नगर्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रह

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारमा संलग्न ईजाजतपत्रवाला संस्था म्यानपावर कम्पनीलाई वर्गीकरण नगर्न आग्रह गरेको छ ।

श्रम मन्त्रालयले म्यानपावर कम्पनीहरूको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न कार्यदल गठन गरेपछि वैदेशिक रोजगार व्यवसायीहरूको ठूलो पंक्तिले त्यसको विरोध गरेकोे हो ।

आइतबार मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाउँदै संघले यस विषयमा वैदेशिक रोजगार व्यवसायीहरूमा अन्योलता देखिएको भन्दै स्पष्ट पार्न माग गरेकोे छ ।

म्यानपावर कम्पनीको वर्गीकरण गर्ने विषयले व्यवसायीहरुबीच अस्वस्थ प्रतिस्पर्धा गराउने भन्दै संघले भनेको छ, ‘वैदेशिक रोजगार ऐन नियममा नभएको व्यवस्था लागू गरी कानूनको उल्लंघन हुने वर्गीकरण गर्ने व्यवस्था नगरिदिनु हुन अनुरोध गरिन्छ ।’

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले पनि लामो समयपछि खुल्न थालेको मलेसियाको रोजगारीमा कामदार पठाउने अवसर सीमित व्यवसायीलाई मात्रै दिने उद्देश्यले वर्गीकरणको तानाबाना बुनेको भन्दै विरोध गरेकोे छ ।

कमेन्ट गर्नुहोस्