कतारमा रहेका नेपालीले अब दूतावासबाटै ई–पासपोर्ट पाउने,३६ वटा जिल्लामा लाइभ इनरोलमेन्ट सुरु

काठमाडौं । कतारको दोहास्थित नेपाली दूतावासबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) छाप्ने काम सरु गरेकाे छ ।

विदेशस्थित नेपाली नियोगबाट पहिलो पटक ई–पासपोर्ट दिन थालिएको हो ।

सफल परिक्षण भएसँगै ई–पासपोर्टको लागि कतारस्थित नेपाली दूतावासले बुकिङ्ग खुला गरेको छ । ‘सुरुको एक हप्ताको लागि सीमित मात्रामा बुकिङ्ग खोलिएको छ,’ विभागले जनाएको छ ।

त्यसैगरी,अन्य खाडी मुलुक र मलेशियामा रहेको नेपाली नियोगहरुमा ई–पासपोर्टको लागि आवश्यक पर्ने उपकरणहरु पठाइ सकिएको विभागले जनाएको छ । उक्त सामानहरु जडान हुनासाथ ती दूतावासबाट केही दिन भित्रै ई–पासपोर्ट सेवा शुरु हुने छ ।

विभागका अनुसार अहिले अन्य मुलुकहरुमा रहेका नेपाली नियोगहरुमा पनि उपकरणहरू पठाउने कार्य भइ रहेको छ ।

नेपाल भित्र ३६ वटा जिल्ला प्रशासन कार्यालय र ५ वटा इलाका प्रशासन कार्यालय गरी ४१ स्थानबाट विद्युतीय राहदानीको लागि लाइभ इनरोलमेन्ट सुरु भइ सकेको छ ।

अन्य जिल्लाहरुमा तीन वटा प्राविधिक टोलीहरुले नेटवर्किङ्ग गर्ने, उपकरणहरू जडान गर्ने र तालीम प्रदान गर्ने कार्य भइरहेको छ । अहिले झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर र काभ्रेमा जडान कार्य सबै सकिएको जिल्ला प्रशासन कार्यालयबाट शुरुआत हुन बाँकी छ। तेस्तै रामेछापमा सबै जडान कार्य सकिएको र माघ १० गतेबाट लाइभ इनरोलमेन्ट शुरु हुने कार्यक्रम रहेको विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्