‘न विर्से तिमीलाई’को नयाँ भर्सन रचनाको स्वरमा आएपछि अञ्जु भन्छिन्–‘दुःख लागेको छ’

काठमाण्डौं । गीतकार विपिन किरणले एक दशक अगाडिको चर्चित गीत ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’लाई गायिका रचना रिमालको स्वरमा दर्शक तथा श्रोतामाझ सार्वजनिक गरेपछि विपिन र रचना विवादमा तानिएका छन् ।

गायिका अञ्जु पन्तको स्वर र महेश खड्काको संगीतमा तयार भएको यो गीतलाई नयाँ भर्सन भन्दै सार्वजनिक गरिएपछि विवाद भएको हो । नयाँ भर्सनमा न त अञ्जु पन्तको नाम नै उल्लेख गरिएको छ न त यसलाई कभर गीत नै भनिएकोे छ ।

यो बिषयमा आम श्रोता र संगीतकर्मीहरुले दुःख व्यक्त गरिरहेकोे समयमा गायिका अञ्जु पन्तले पनि आफ्नो भनाई सार्वजनिक गरेकी छिन् ।

हाल अमेरिकामा रहेकी गायिकाले सामाजिक संजालमा लेखेकी छिन्
–‘भर्खरै पुनः रकेर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न विर्से तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको खबर थाहा पाएँ । नेपाली सांगीतिक इतिहासमा अति नै लोकप्रिय जन–जनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदिश समालले पनि गाउनुभयो । आजसम्म पनि उत्तिकै सर्वाधिक लोेकप्रिय रहेकोे यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियोे कि थिएन, त्यो बिषयमा मेरोे केही भन्नु छैन । केही समय अगाडि विपिन किरण भाईले यो गजलको नयाँ एरेन्जमा मेरो स्वरमा नै रि–रेकर्ड गर्ने भन्नुभएको थियो । सोही अनुसार एरेन्जर महाराज थापाले गर्नुभएको नयाँ एरेन्ज मलाई पठाउनुभएको थियोे । हामी समय अनुकुल मिलाएर पुनः रेडर्क गर्ने योेजनामा थियौ ।’

अञ्जुले विपिनले आफूलाई कभरको रुपमा किड्स भर्सन नयाँ भाई बहिनीहरुलाई गाउने दिने कुरा गरेको र यसमा आफूले खुशीसाथ हुन्छ भनेको पनि उल्लेख गरेकी छिन् ।

अञ्जुले अगाडि लेखेकी छिन्–‘अहिले नयाँ भर्सनमा गायिका रचना रिमालको स्वरमा रेकर्ड भएछ । मेरी छोरी समान कि रचना नानु लगायत सबै नव आगन्तुक कलाकारप्रति सधै स्वागत, आर्शिवाद र धेरै माया छ र रहिरहनेछ । उही संगीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाकोे नाम समेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुखद र अन्यायपूर्ण कुरा हो । के र कुन उद्देश्यका लागि यस्तो भयो, मलाई थाहा भएन । म एक व्यक्तिको कुरा भन्दा पनि यो चलनले भोलीका दिनमा संगीत र कलाकारलाई दिने सम्मान र आदरको संस्कार नै पो भुल्न लागिरहेका छैनौ भन्ने चिन्ता लागेको छ ।’

अञ्जुले यो विषयमा विवाद र चर्चा नगरी दर्शक श्रोताको माग अनुसार समाधानको नयाँ उपाय निस्कनेमा आफू आशावादी रहेको पनि उल्लेख गरेकी छिन् । साथै, उनले भोलीका दिनमा कोही पनि कलाकार अपमानित र अन्यायमा परेको अनुभुती गर्ने दिन आउने छैन भनेर आशा व्यक्त गरेकी छिन् ।

कमेन्ट गर्नुहोस्