के देउवा गठबन्धन तोड्न तयार भएका हुन् ?

काठमाडौं । मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पारित गर्न सत्तारुढ गठबन्धन तयार नभए पनि प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिपक्षी दल एमालेसँग सहयोग माग्न बालकोट पुगेका छन्।

सत्तारुढ गठबन्धनको बैठक सकिने बित्तिकै प्रधानमन्त्री देउवाको बालकोट दौडाहाले गठबन्धन तोडेरै भए पनि एमसीसी पारित गर्ने तयारीको खुलासा भएको छ।

देउवालाई अहिले गठबन्धनभन्दा महत्वपूर्ण एमसीसी सम्झौता भएको र उनी कुनै पनि मूल्य चुकाएर अमेरिकालाई खुसी बनाउन चाहेको विश्लेषण हुन थालेको छ। बुधबार बेलुकी अमेरिकी राजदूत रेन्डी बेरी वालुवाटारमै आएर देउवालाई तत्काल एमसीसी सम्झौता संसदबाट पारित गर्न दबाब दिएका थिए।

एक दिनअघि मात्रै अमेरिकी राजदूतको दबाब झेलेका देउवा आजको गठबन्धन बैठकमा बढी हतास देखिएको बैठकमा सहभागी एक नेताको भनाई छ। सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीले यथास्थितिमा एमसीसी सम्झौता संसदमा टेबुल गर्न नसकिने पुरानै अडान दोहोर्याएपछि देउवा विकल्पको खोजीमा भौतारिएको बताइन्छ।

कुनै पनि हालतमा गठबन्धन भत्किएको हेर्न चाहेका ओलीलाई यो भन्दा ठूलो अवसर अरु हुन सक्दैनथ्यो। त्यसैले देश तीव्र धु्रवीकरणमा पुगिसक्दा पनि एमालेले एमसीसी सम्झौताबारे अहिलेसम्म मुख खोलेको छैन। आफू सत्तामा हुँदा एमसीसी सम्झौता संसदीय अनुमोदनबाट अघि बढाउन अनेक प्रयास गरेको एमाले र ओली अहिले मौन रहनुको पछाडि सत्ता गठबन्धन तोड्ने चाहना कतै छिपेको छैन।

अन्ततः एमसीसी सम्झौताकै कारण देउवा सत्ता गठबन्धनबाट खुट्टा उचालेर ओलीको शरणमा पुग्न थालेको घटनाक्रमले पुष्टि हुन थालिसकेको छ। अझैं पनि देउवाले चाहेमा सत्ता गठबन्धन जोगिन सक्छ। एमसीसी सम्झौता अघि बढाएर राष्ट्रघाती कदम चाल्ने र संसद विघटन गर्ने प्रतिगामी कदमविरुद्धको गठबन्धन भत्काउने कि एमसीसी सम्झौता केही समय थाँती राखेर प्रतिगामी कदमविरुद्ध बनेको गठबन्धन जोगाउने ? बल देउवाकै हातमा छ।

कमेन्ट गर्नुहोस्