१ लाख १८ हजार म्यादी प्रहरी माग

काठमाडौं । स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीले १ लाख १८ हजार म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयसँग सो संख्यामा म्यादी प्रहरी प्रस्ताव गरेको हो ।

तर, गृह मन्त्रालयले म्यादी भर्नाका लागि अर्थ मन्त्रालयसँग राय लिँदा अर्थले भने बजेट अभावका कारण ९० हजारमा सीमित गर्न भनेको छ । सरकारले ३० वैशाख २०७९ मा ७ सय ५३ वटै स्थानीय तहमा एकै दिन स्थानीय तहको निर्वाचन गर्नेगरी मिति तय गरेको छ । मौजुदा सुरक्षा जनशक्तिबाट निर्वाचनको सुरक्षाका लागि जनशक्ति अपुग हुने भएपछि म्यादी प्रहरी भर्नाको तयारी गरिएको हो ।

गृह मन्त्रालयका अनुसार प्रहरी प्रधान कार्यालय नक्सालले म्यादीको आवश्यक संख्या, म्यादी परिचालनका लागि बजेट, निर्वाचनमा मौजुदा प्रहरी परिचालनका लागि आवश्य बजेटसहित यातायात साधन खरिदका लागिसमेतको योजना बनाएर मन्त्रालयमा पेस गरिसकेको छ । निर्वाचनको सुरक्षा व्यवस्थापनका लागि ७ सय २३ वटा गाडी खरिद गर्नुपर्ने प्रधान कार्यालयको प्रस्ताव छ ।

तर, नयाँ गाडी किन्ने कि भाडामा लिएर चलाउने भन्ने विषयमा अझै टुङ्गो लागेको छैन । म्यादी भर्ना गर्दा पूर्वप्रहरी र पूर्वसैनिकलाई प्राथमिकतामा राख्ने बताईएको छ ।त्यसका लागि पूर्वप्रहरी र सैनिकको लगत संकलनको तयारी भएको छ । प्रहरी प्रधान कार्यालयले सोहीअनुसार योजना बनाएर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो । प्रधान कार्यालयको प्रस्तावमा गृहले थप प्रक्रिया अघि बढाउँदै छ ।

प्रधान कार्यालयले म्यादी प्रहरी परिचालनका लागि मात्रै ७ अर्ब १९ करोड ९४ लाख बजेट माग गरेको गृह स्रोतले जानकारी दिएको छ । त्यसबाहेक ९ अर्ब २९ करोड रकम प्रधान कार्यालयले सरकारसँग माग गरेको छ । नेपाल प्रहरीमा हाल करिब ७९ हजार, नेपाली सेनामा ९७ हजार, सशस्त्र प्रहरी बलमा ३७ हजार र राष्ट्रिय अनुसन्धान विभागमा ३ हजार जनशक्ति छ ।

प्रहरीले ३० प्रतिशत जनशक्तिलाई रिजर्भमा राखेर अन्य जनशक्तिलाई निर्वाचनमा खटाउने योजना बनाएको छ । यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनका लागि म्यादी मात्रै ७५ हजार भर्ना गरिएको थियो । यसपटक एकै चरणमा निर्वाचन गर्ने सरकारको लक्ष्य रहेका कारण पहिले भन्दा संख्या थप बढ्ने भएको हो । गत १९ माघमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमार्फत गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय तह निर्वाचनका लागि आवश्यक सुरक्षा योजना बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।

कमेन्ट गर्नुहोस्