मासिक तलबको मागसहित त्रिविका आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको ताला

काठमाण्डौं । त्रिभुवन विश्वविद्यालय र यसअन्तर्गत आंगिक क्याम्पसमा पढाउँदै आएका आंशिक प्राध्यापक दुई सातादेखि आन्दोलनमा उत्रेका छन्।

उनीहरुले त्रिविमा उपकुलपति, रजिष्ट्रार, रेक्टर र डिन कार्यालय तथा आंगिक क्याम्पसमा क्याम्पस प्रमुख, लेखा र प्रशासन कार्यालयमा आन्दोलनरत आंशिक प्राध्यापकले ताला लगाएका हुन्।

त्रिवि र ६१ आंगिक क्याम्पसमा गरेर दुई हजार हाराहारीमा आंशिक प्राध्यापक कार्यरत छन्।

समान कामका लागि समान ज्याला भन्ने माग राखेर आन्दोलनमा गरेका एक आन्दोलनरत प्राध्यापकले बताए ।

विद्यार्थीका परीक्षा र पठनपाठनलाई अवरूद्ध गर्ने गरी आफूहरूले आन्दोलन नगरेको पनि उनको भनाई छ । आंशिक प्राध्यापकका समस्या सुनुवाइ गर्न अहिले त्रिविले खासै चासो नदेखाएको उनीहरुको गुनासो छ । समस्या समाधान गर्न पटक–पटक त्रिविले सम्झौता गरे पनि कार्यान्वयन नगरेको उनीहरुकाे आरोप छ।

समान काम गर्दा स्थायी प्राध्यापकले मासिक तलब पाउने उही कोर्स पढाउने र उत्तिकै काम गर्ने आंशिक प्राध्यापकले दैनिक ज्यालादारी मात्रै पाउने विभेद हटाउनु पर्ने उनीहरुको माग हाे ।

त्रिविमा १५–२० वर्षदेखि आंशिक प्राध्यापक कार्यरत छन्। सँगै काममा प्रवेश गरेकाहरू कोही स्थायी भएर निवृत्तिभरण लिने बेलामा पुगेका छन् भने कोही आंशिक प्राध्यापक नै छन्।

आंशिक प्राध्यापकहरुले आफुहरुलाई स्वतः स्थायी गर्नु नपर्ने तर त्रिवि सेवा आयोगबाट परीक्षा दिने व्यवस्था मिलाउनुपर्नै जनाएका छन् ।

त्रिविले १५ वर्षअघि पहिलो पटक २०६३ मा आंशिक प्राध्यापकसँग समस्या समाधान गर्ने गरी सम्झौता गरेको थियो। त्यो सम्झौता कार्यान्वयनमा नजाँदा ०६५ मा तीन वटा सम्झौता गरिएका थिए।

शिक्षा मन्त्री, शिक्षा सचिव, त्रिवि पदाधिकारी लगायतसँग आंशिक प्राध्यापकले पटक–पटक समस्या समाधान गर्न सम्झौता गरे पनि आंशिकका माग ज्युँकात्युँ छन्।

यसबीचमा ०७४ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा एक हजार चार सय २० दरबन्दी थप गरिएको थियो। त्रिवि र आंगिक क्याम्पसमा आवश्यकताअनुसार दरबन्दीमा प्राध्यापक नहुँदा आंशिक प्राध्यापक राखेर पठनपाठन गर्नुपरेको छ।

 

उनीहरूलाई प्रतिपिरिएड पाँच सय ९० रुपैयाँका दरले पारिश्रमिक दिने गरिएको छ।

 

कमेन्ट गर्नुहोस्