पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थी आन्दोलित

काठमाडौं । परीक्षा दिन नपाएपछि पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले आन्दोलन गरेका छन् । अनलाइन फारम भरेका ७ जना विद्यार्थीले परीक्षा दिन नपाएपछि आन्दोलन भएको हो । इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ)ले परीक्षा फारम रजिस्टर नभएको कारण प्रवेश पत्र नपाएको बताएपछि विद्यार्थीअहरु अन्योलमा परेका छन् । आइओइमा पुगेर ध्यान आकर्षण गराउँदा समेत माग सुनुवाइ नभएपछि विद्यार्थीहरुले बिहीबारबाट क्याम्पस गेटमा प्रदर्शन गरेका छन् ।

आइओईले अर्को वर्ष सिट खाली भएमात्र परीक्षा दिन पाउने भनेपछि उनीहरू समस्यामा परेका हुन् ।

क्याम्पसले फारम स्वीकार भएको वा नभएको विद्यार्थीको सूचना समेत प्रकाशित नगरेको भन्दै विद्यार्थी आक्रोशित भएका हुन् । आन्दोलनरत विद्यार्थी प्रभास गौतम भन्छन्, ‘आईओइले लापरबाही गरेर विद्यार्थीको भविष्यमा खेलवाड गरेको हो । यसपटक नै जरिवाना लिएर पनि विद्यार्थीले थप परीक्षा दिन पाउनुपर्छ ।’

यता, क्याम्पस प्रमुख ओमप्रकाश ढकाल अनलाइन बाट फारम भरेका विद्यार्थीले परीक्षा दिन नपाउनु समस्या भएको बताउँछन् । अनलाइनका प्राविधिक कारणले यो समस्या देखिएको हो । विद्यार्थीहरुको समस्याका विषयमा डिन कार्यालयमा जानकारी गराएको र सकारात्मक प्रतिक्रिया पाएकाले विद्यार्थीको माग सुनुवाइ हुने ढकालले बताएका छन् ।

कमेन्ट गर्नुहोस्