निर्वाचन आचारसंहिता अनुगमन गर्न देशभर संयन्त्र

काठमाडौं । निर्वाचन आयोगले यसपालीदेखि देशव्यापी रुपमा आचारसंहिता पालनाको अनुगमन गर्ने भएको छ । गत शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू गरेको आयोगले त्यसको अनुगमनका लागि पनि संयन्त्र गठनको व्यवस्था गरेको हो ।

आयोगले अहिले केन्द्रीय, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहमा गरी चार तहमा आचासंहिता अनुगमनको संयन्त्र बनाइसकेको छ । ३० वैशाखमा हुने स्थानीय निर्वाचनमा निर्वाचन क्षेत्रस्तरीय संयन्त्र भने रहनेछैन ।

 

निर्वाचन आयोगले यसअघिका निर्वाचनमा केन्द्रियस्तरमा आचारसंहिता पालनाको अनुगमन गरिरहेकोमा अब भने जिल्ला र स्थानीय तह स्तरमा विकेन्द्रिकरण गरिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए । ‘पहिले निर्वाचन आयोगले केन्द्रबाट नै देशभरका निर्वाचन आचारसंहिता पालनाको अनुगमन गथ्र्यो र त्यसैअनुसार कारवाही हुन्थ्यो’ पौड्यालले भने, ‘अब यसपटकदेखि हामीले त्यो संयन्त्र जिल्ला, निर्वाचन क्षेत्र हुँदै स्थानीय तहसम्म पुर्‍याएका छौं ।’

याे पनि पढ्नुस  मनोनयन दर्ताका लागि पत्रकार सम्मेलन गर्दै आयोग

यसपालीको निर्वाचनमा स्थानीय तहमा रहेका निर्वाचन अधिकृतले समेत आचारसंहिता पालनाको अनुगमन र कारवाही गर्नसक्ने उनले बताए । वैशाख लागेपछि मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त हुने भएकाले आयोगले अहिले त्यो अधिकार हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेको छ ।

 

निर्वाचन आयोगले आफ्ना एक आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति बनाएको छ । त्यसका लागि आयुक्त रामप्रसाद भण्डारी तोकिएका छन् ।

उक्त समितिमा निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, कानून, गृह र सञ्चार मन्त्रालयका सचिवहरु सदस्य रहनेछन् । समितिमा नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष पनि सहस्य रहेनछन् भने निर्वाचन आयोगको कानून तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख सदस्य सचिव हुनेछन् । आयोगले आचारसंहिता पालनाको अनुगमन गर्न कम्तिमा सहसचिवस्तरको कर्मचारीको नेतृत्वमा अनुगमन टोली पनि खटाउने छ ।

याे पनि पढ्नुस  निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने

हरेक जिल्लामा मुख्य निर्वाचन अधिकृतको नेतृत्वमा जिल्लास्तरिय आचारसंहिता अनुगमन समिति बनेको आयुक्त पौड्यालले बताए । समितिमा प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकृतहरु अनि प्रहरी कार्यालयका प्रमुख सदस्यको रुपमा रहनेछन् भने जिल्ला निर्वाचन कार्यालयको प्रमुखलाई सदस्य सचिव तोकिएको छ । निर्वाचन अधिकृतको संयोजकत्वमा बन्ने निर्वाचन क्षेत्र स्तरिय समिति भने अहिले सक्रिय भइसकेको छैन ।

निर्वाचन अधिकृतको संयोजकत्वमा गठन हुने समितिमा स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र सम्बन्धित स्थानीय तहको प्रहरी प्रमुख सदस्यको रुपमा तोकिएका छन् । सहायक निर्वाचन अधिकृत सदस्य हुनेछन् । स्थानीय तहस्तरमा आउने गुनासो र उजुरीहरुलाई त्यहीबाट सम्बोधन गर्न आवश्यक देखेर त्यहीस्तरको समिति बनाइएको आयुक्त पौड्यालले बताए ।

याे पनि पढ्नुस  ८७ प्रकारका मतपत्रको तयारी, आइतबारदेखि सामाजिक सञ्जाल अनुगमनमा कडाई गरिने

‘स्थानीय तह वा गाउँटोलमा हुने आचारसंहिता उल्लंघनका हरेक घटनामा आयोगले हेर्ने र निर्णय गर्नसक्ने अवस्था छैन’, उनले भने, ‘त्यसैले विषयवस्तुको गम्भिरता अनुसार स्थानीय तहस्तरकै समिति बनाइएको हो । सकेसम्म उसले विवादलाई त्यही टुंग्याउनेछ । गम्भीर विषयवस्तु मात्रै जिल्ला हुँदै निर्वाचन आयोगसम्म आउनेछन् ।’ उनले स्थानीय तहस्तरका कतिपय गुनासो निर्वाचन आयोगमा आइपुगेमा त्यही नै ‘फरवार्ड’ गरेर टुंगो लगाउन पठाइने बताए । आयोगले सामाजिक सञ्जालको निगरानीका लागि समेत ‘साईबर सेल’ गठनको तयारी गरेको छ । रासस

कमेन्ट गर्नुहोस्