एमाले नेता घिमिरेले रुँदैरुँदै पार्टी परित्याग गरे

काकरभिट्टा । नेकपा एमालेका नेता डिल्लीराम घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका छन ।

झापा काकरभिट्टा निवासी एमाले जिल्ला सदस्य तथा झापा क्षेत्र नं १ समन्वय कमिटिका संयोजक घिमिरेले एमाले परित्याग गरेको घोषणा गरेका हुन् । पार्टी परित्याग गरेको घोषणा गर्दै गर्दा उनको आँखामा आँसु भरिएको थियो र मर्माहत हुँदै रोएका थिए ।

तत्कालिन काकरभिट्टा गाविसको अध्यक्ष समेत रहेका नेता घिमिरेले पार्टी निर्माण र संगठन बिस्तारसंगै जनसेवामा समर्पित हुँदा समेत एमालेले आफ्नो योगदानको कदर नगरको बताउँदै पार्टी छोडेको बताए । नेता घिमिरे आसन्न बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि एमालेका तर्फबाट मेचीनगरको नगरप्रमुख पदको आंकाक्षी थिए ।

उम्मेद्वार छनौटका लागि भएको पार्टीको आन्तरिक चुनावमा घिमिरे सिफारिसमा परेनन् । उम्मेद्वार छनौटका क्रममा नेताहरुले आफुबिरुद्ध षडयन्त्र गरेर उम्मेद्वारका रुपमा छनौट हुन नदिएको नेता घिमिरेले आरोप लगाएका छन्। मेचीनगरको मेयरको लागि एमालेबाट प्रदेशसभा सदस्य गोपाल बुढाथोकी, हालकी उपमेयर मिना उप्रेती र निलकण्ठ तिवारीको नाम सिफारिस भएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘आदरणीय मेरा सहयोगी मित्रहरू पटकपटक म माथि भएको अन्याय सहन सकिन एउटैलाई थपीथपि जिम्मेवारी र अरुलाई अवसरबाट बन्चित गर्ने चरम गुडबन्दीका नाइके हरुसँग बसेर पटकपटक अन्याय सहनुभन्दा स्वतन्त्र जीवन जिउनु उचित ठानेर आजकै मिति बाट नेकपा एमाले को सम्पूर्ण जिम्मेवारीबाट बिदा लिए मलाई माया गर्नुहुने सम्पूर्ण मित्रहरूसँग क्षमा चाहान्छु।’

कमेन्ट गर्नुहोस्