काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय प्रजातन्त्रवादी पार्टीबीच स्थानीय निकायको निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ ।
पछिल्ला केही दिनदेखि छलफलमा रहेका दुबै पार्टीले स्थानीय निकायको निर्वाचनमा देशैभरी तालमेल गर्ने घोषणा गरेका हुन ।
नेकपा एमाले स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपाको स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशील कुमार श्रेष्ठको हस्ताक्षरसहित सहमति सार्वजनिक गरिएको हो ।
पाँच बुँदे सहमतिमा देशैभरि सम्भव भएका पालिकामा तालमेल गर्ने, जिल्ला कमिटिहरुले तालमेलको छलफल गरेर केन्द्रमा प्रस्ताव तयार पार्ने र केन्द्रीय तहको अनुमतिपश्चात सहमति कार्यान्वयन गर्ने उल्लेख छ ।
यसैगरी राप्रपाका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिष्पर्धा गर्ने समेत सहमतिमा उल्लेख छ ।