गणतन्त्रविरुद्ध राजावादी र फासीवादी एक हुने खतरा– राष्ट्रिय जनमोर्चा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र समाप्त गर्न राजावादी र फासीवादी शक्ति एक हुने सम्भावना रहेको बताएको छ ।

नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेल गर्ने घोषणा भएकै दिन जनमोर्चाले भने एमाले र राजावादीबीच साँठगाँठ गणतन्त्रका लागि खतरा भएको बताएको हो ।

आगामी स्थानीय निर्वाचनका लागि सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ, “विगतमा गणतन्त्रका लागि सङ्घर्ष गरेको नेकपा एमालेको नेतृत्वमा फासिवादी तथा प्रतिगामी प्रवृत्ति देखिएको छ। राजावादी तथा फासिवादी यी दुईटा बेग्ला बेग्लै धारा गणतन्त्रका विरुद्ध एक हुन सक्ने सम्भावना पनि देखिएको छ।”

घोषणापत्रमा अगाडि भनिएको छ, ‘ उपरोक्त सबै परिस्थितिमाथि ध्यान दिंदा गणतन्त्र समाप्त हुने तथा मुलुक प्रतिगमन वा अधिनायकवाद तर्फ जाने खतरा रहेको छ। उक्त खतराका विरूद्ध पाँचदलीय गठबन्धनले संघर्ष गर्दै आएको छ जुन सही छ।”

जनमोर्चाले गणतन्त्र स्थापना भएको १५ वर्षको अवधिमा १४ वटा सरकार परिवर्तन भएका तर जनताका जनजिवीकाका समस्या झन् पछि झन् गम्भीर हुँदै गएको औंल्याएको छ “ जसको परिणाम गणतन्त्रवादी शासकहरूको कुशासनबाट जनतामा व्यापक असन्तोष छ । यो असन्तोषलाई गणतन्त्रका विरुद्ध प्रयोग गरेर त्यसलाई प्रतिगामी दिशा दिने लगातार प्रयत्न भइरहेको छ।”

 

कमेन्ट गर्नुहोस्