सुनसरीमा अन्न भण्डारण गृह सञ्चालन

काठमाडौं । सुनसरीको गढी गाउँपालिकामा नेपालकै पहिलो तथा ठूलो अन्न भण्डारण गृह सञ्चालनमा आएको छ ।
नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको औराबनीबाट भण्डारण गृह सञ्चालन गरी व्यावसायिक कारोबार थालनी गरेको छ । यस अन्न भण्डारण गृहको क्षमता १५ हजार मेट्रिक टन रहेको छ । मकै, गहुँ र भटमास भण्डारण गर्न मिल्ने गरी जडान गरिएको प्लान्ट स्वचालित र साइलो प्रविधिमा आधारित रहेको छ ।

भण्डारण गृहको सञ्चालनले किसानलाई आफ्नो उत्पादनको उचित मूल्य प्राप्तिमा सहयोग पुग्ने बताइएको छ । अन्न भण्डारणको आधारमा किसानका लागि बैंकमार्फत धितोसमेत उपलब्ध गराइने कम्पनीका प्रशासक श्रवणकुमार यादवले बताए ।

कम्पनीका अनुसार कपिलवस्तु र पर्सामा समेत भण्डारण गृह निर्माणको चरणमा छ । कपिलवस्तुमा १५ हजार मेट्रिक टन र पर्सामा २५ हजार मेट्रिक टन क्षमताको अन्न भण्डारण गृह निर्माण चरणमा रहेको सो कम्पनीले जनाएको छ । तीनवटै स्थानको गरी ५५ हजार मेट्रिक टन क्षमताको खाद्यान्न भण्डारणको कुल परियोजना लागत १ अर्ब ४९ करोड रुपैयाँ रहेको कम्पनीले बताएको छ ।

वेयर हाउसमा तीनवटा अन्न भण्डारण प्लान्ट स्वचालित, साइलो प्रविधिमा आधारित रहेका छन् । प्रत्येकको पाँच हजार मेट्रिक टन क्षमता रहेका ती प्लान्टमध्ये मकै, गहुँ र भटमास भण्डारण गरिने कम्पनीले जनाएको छ ।

भण्डारणस्थलको अभावमा उत्पादनको समयमा सस्तो मूल्यमा अन्न बेच्नुपर्ने किसानको बाध्यता अन्त्य हुने कम्पनीले विश्वास लिएको छ । खाद्यान्न भण्डारण–गृह निर्माणले नेपालको पूर्व क्षेत्रका साथै भारतीय सीमावर्ती क्षेत्रका अन्न उत्पादक किसानसहित कृषिवस्तु संकलक, खाद्यान्न प्रशोधक तथा दाना उत्पादकहरू लाभान्वित हुने बताइएको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओसमेत जारी गर्ने गरी तयारी अघि बढाएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्