कैलालीका अर्जुन दासको हत्यामा संलग्न चार पक्राउ

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ ।

महानगरीय अपराध महाशाखाले आज शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बिहीबार राति पक्राउ गरिएको जानकारी गराएको हो ।

यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका–९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन् ।

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सिमानाकामा आएको खबर आएपछि स्थानीय प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।

पक्राउ परेकाहरुले दिएको प्रारम्भिक बयानका अनुसार मोवाईल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरेको बुझिएको छ । हत्याको आरोपमा सलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको छ ।

महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ ।

कमेन्ट गर्नुहोस्