चुनाव अगावै बन्दी रिहा र मुद्धा फिर्ता गर्ने विप्लवलाई सरकारको आश्वासन

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई स्थानीय तहको निर्वाचन अघि नै बन्दी रिहा र मुद्दा फिर्ता हुने आश्वासन दिएको छ । प्रतिबन्धको अवधिमा पक्राउ गरी बन्दी बनाएका नेता कार्यकर्ता र मुद्दा फिर्ता गरेर चुनावमा जाने वातावरण बनाउने बताएको हो ।

विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा,सचिवालय सदस्य हेमन्तप्रकाश ओली र धर्मेन्द्र बास्तोला लगायत नेताहरुले सत्तापक्षका नेताहरुलाई बन्दी रिहा र मुद्दा फिर्ता लिन आग्रह गर्दै आएका छन् ।

उनीहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको तीन बुँदे सहमति कार्यन्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा,गृह मन्त्री बालकृष्ण खाँडसहित सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरुलाई भेटेर दबाब दिइरहेका छन् ।

प्रधानमन्त्रीसहित सत्तारुढ दलका नेताहरुले स्थानीय निर्वाचन अघि बन्दी रिहा र मुद्दा फिर्ता लिने आश्वासन दिने गरेको सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले बताए। ‘महासचिव विप्लव सहित पार्टीका नेताहरुले प्रधानमन्त्री सहित सत्तारुढ दलका नेताहरुलाई बारम्बार भेटिरहेका छौं । तीन बुँदे सहमतिको कार्यन्वयनको ध्यानाकषर्ण गराएका छौं’ रातोपाटीसँग कुरा गर्दै बास्तोलाले भने,‘स्थानीय चुनाव अघि तपाईंहरुका नेता कार्यकर्ता छोड्छौ । मुद्दा फिर्ता लिन्छौ भन्नु भएको छ । हेरौं के गर्नुहुन्छ ?’ अहिले विप्लव नेतृत्वको नेकपाका एक सय भन्दा बढी नेता कार्यकर्ता बन्दी हुनुका साथै उत्तिकै मात्रामा राजनीतिक मुद्धा खेपिरहेका छन् । ती सबै प्रक्रिया भएमा स्थानीय चुनावमा भाग लिन सहज हुने उनीहरुको बुझाई छ ।

स्थानीय निर्वाचनका विषयमा समेत गत शुक्रबार नेकपा सचिवालय बैठकमा छलफल भएको छ । बैठकमा विप्लवले बन्दी रिहा र मुद्दा फिर्ताका विषयमा भईरहेको पहलका विषयमा बैठकलाई जानकारी दिएका थिए ।

पार्टी केन्द्रिय कमिटीको बैठकमा विप्लवले चुनावलाई उपयोग गर्ने पस्ताव राखेको भएतापनि कार्यकर्तालाई बन्दि बनाई राखेर चुनावमा जान नहुने भन्दै प्रश्न उठेको थियो ।

कमेन्ट गर्नुहोस्