रोल्पामा १० मध्ये १ पालिका जितेको कांग्रेसले ५० प्रतिशत मागेपछि

रोल्पा । रोल्पामा नेपाली कांग्रेसले पार्टी केन्द्रका निर्णयविपरित दावी गरेपछि चुनावी तालमेलमा संकट उत्पन्न भएको छ ।
सभापति देउवा पक्षको कमजोर उपस्थिति रहेको रोल्पामा कोइराला पक्षले दशवटा स्थानीय तहमध्ये ५ वटामा दावी गरेको हो ।
यसअघिको स्थानीय निकायको निर्वाचनमा भने कांग्रेसले एक पालिका जितेको थियो । दशवटा पालिका रहेको रोल्पामा माओवादी केन्द्रले सातवटा र एमालेले २ पालिकामा जितेको थियो ।

माओवादी केन्द्रले भने पचास प्रतिशत हिस्सा माग्ने हो भने देशका सबै तहमा पनि सोही अनुसार जानुपर्ने तर रोल्पामा एक जितेको कांग्रेसले ५ स्थानीय तह माग्नु नैतिक नभएको जनाएको छ । माओवादीका एकजना केन्द्रीय सदस्यका अनुसार कांग्रेसका स्थानीय नेताहरुले गठबन्धन भत्काउन खोजेको आरोप लगाए । सकेसम्म गठबन्धन भत्काउने र एमालेसँग मिल्ने उनीहरुको रणनीति भएको र यसले देशका अन्य जिल्लामा समेत गठबन्धनको विपक्षमा रहेका कांग्रेसका नेताहरुले मुद्दा पाउने उनले बताए ।

माओवादी केन्द्रले गठबन्धन दलहरुले तय गरेको मापदण्डका आधारमा यसअघि जुन पालिकामा जसले जितेको हो, उसलाई नै दिने र एमालेले जितेका स्थानमा एकमा कांग्रेस र अर्कोमा माओवादी केन्द्रले लड्ने गरी तालमेलको प्रस्ताव अघि सारेको छ । यसो गर्दा यसअघि जितेको भन्दा दुबै दलले एक एक पालिका बढी पाउने हुन्छ ।

कांग्रेसको जिल्ला नेतृत्व भने गठबन्धनको पक्षमा नदेखिएकोले समस्या निम्तिएको ती केन्द्रीय सदस्यले बताए । अहिलेसम्म थुप्रैपटक वार्ता भएपनि कांग्रेसले गठबन्धन नगर्ने निहुँ झिक्नकै लागि अनावश्यक माग गरेको बताउँदै उनले यसबारेमा औपचारिक निर्णय भने अहिलेसम्म नभएको बताए ।

कांग्रेसको कोइराला पक्षलाई एमालेका नेताहरुले समेत दबाबमा राखेको र प्रदेश तथा संघको निर्वाचनसम्म आन्तरिक गठबन्धन गरेर जाने समीकरण बनाएकोले स्थानीय तहमा सकेसम्म तालमेल बिगार्ने र त्यसको दोष माओवादीलाई दिन कांग्रेसका स्थानीय नेताहरु लागेको उनले बताए ।

रोल्पामा माओवादीको आधारक्षेत्रका रुपमा चिनिन्छि । माओवादी एक्लैले निर्वाचन लडेको खण्डमा दश स्थानीय तहमध्ये ८ तहमा सहजै जित्न सकिने उनले बताए ।

कमेन्ट गर्नुहोस्