आफ्नै पार्टीका नेतालाई ओलीले माओवादी पोलिटब्युरो सदस्य भन्दै पार्टीमा प्रवेश गराए

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सर्लाहीमा एक जना आफ्नै दलका नेतालाई अर्को दलको भन्दै पार्टी प्रवेश गराएका छन्।

शनिबार सर्लाहीको सदरमुकाम मलंगवामा एमाले जिल्ला समितिले आयोजना गरेको सभामा ओलीले एमालेकै नेता केशव ढुंगानालाई पार्टीमा प्रवेश गराएका हुन्।ढुंगानालाई उनले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भन्दै एमालेमा ‘भित्र्याएका’ हुन्। त्यस क्रममा अबिर र माला लगाउँदै ओलीले ढुंगानालाई पार्टीमा स्वागत गरेका छन्।दुई कार्यकाल एमालेको सर्लाही जिल्ला सचिव भएका ढुंगाना २०६४ सालको संविधान सभा निर्वाचनपछि एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

सुरुमा माओवादी केन्द्रको केन्द्रीय सदस्य बनेका ढुंगाना पछि माओवादीको पोलिटब्युरो सदस्यसमेत बनेका थिए। तर उनी एमाले र माओवादीबीच एकता हनुअघिसम्म माओवादी केन्द्रको पोलिटब्युरो सदस्य थिए। दुई पार्टीबीच एकता भएर नेकपा बनेपछि ढुंगाना पद घटुवामा परेका नेता हुन्। नेकपामा उनी प्रदेश कमिटी सदस्य मात्र थिए।

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र अलगअलग भएपछि ढुंगाना एमालेमा क्रियाशील भइसकेका थिए। एक वर्षअघि नै एमाले बनेका ढुंगानाले यसबीच दर्जनौंपटक ओलीलाई भेटिसकेका छन्।तर शनिबार उनै ढुंगानालाई एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका पोलिटब्युरो सदस्य भन्दै पार्टी प्रवेश गराएका हुन्।

माओवादी केन्द्र सर्लाहीले भने यसलाई एमालेको ‘प्रपोगान्डा राजनीति’ भन्दै व्यंग्य गरेको छ।

‘उहाँ एक वर्षअघि नै एमाले बन्नु भएको हो, हिजो फेरि एमालेमा प्रवेश गर्नु भएको सुन्दा अनौठो लाग्यो,’ माओवादी केन्द्रका सर्लाही जिल्ला इन्चार्ज अच्युतम काफ्लेले भने, ‘उहाँ एमालेसँग पार्टी एकता हुनुअघिसम्म मात्रै माओवादीको पोलिटब्युरो सदस्य हो। नेकपा बनेपछि प्रदेश कमिटी सदस्य हुनुभयो। पछि दुई पार्टीलाई अदालतले अलगअलग गरेदेखि नै एमाले बन्नुभएको हो।’

नेता ढुंगानाले पनि एक वर्षअघि देखि नै आफू एमालेमा क्रियाशील भएको स्वीकार गरे। ‘हिजो त ‘बिरालो बाँधेर श्राद्ध गरे जस्तो’ मात्रै हो,’ नेता ढुंगानाले भने, ‘मैले एमाले बनेको घोषणा एक वर्षअघि नै गरिसकेको थिएँ। साथीहरुले प्रवेश गर्नुपर्छ भनेपछि अध्यक्ष ओलीको हातबाट टीका लगाएको मात्रै हो।’

 

कमेन्ट गर्नुहोस्