पश्चिम तराईमा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौं । तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेख अनुसार देशका ७ ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । गएको २४ घन्टामा भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ४ डिग्री सेल्सियस छ । यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ।

काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ । तापक्रम धेरै बढेको बेला बालबालिका, वृद्धवृद्धा, मुटु रोगी र गर्भवती लगायतलाई बढी असर गर्छ । यस्तो बेला दिउँसो घरबाहिर ननिस्कने र खानपानमा पनि ध्यान दिनुपर्नेमा विज्ञले सुझाव दिएका छन्।

यसैबीच, आउँदो बिहीबार भने देशका धेरै ठाउँमा मौसम बद्ली भइ हल्का पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्