विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

काठमाडौ । चलचित्र विकास बोर्डले विशेष योगदान सम्मान तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न गरेको छ । बोर्डले दुईवर्षपछि ४ बैशाख, २०७९ मा राष्ट्रपति भवन सितल निवासमा राष्ट्रिय चलचित्र पुरस्कार कार्यक्रम गरेको हो ।

हरेक वर्ष आयोजना हुने राष्ट्रिय चलचित्र पुरस्कार समारोह कोरोनाको कारणले २०७६ र ०७७ मा हुनसकेको थिएन । त्यसैले पनि यसपटकको पुरस्कार समारोहलाई विशेष रुपमा हेरिएको चलचित्र विकास बोर्डले जनाएको छ । यसपटक समारोहमा २०७६ र २०७७ गरी दुई वर्ष सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूमध्येबाट राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गरिएको हो ।

दुई वर्षमा सार्वजनिक प्रदर्शन भएका नेपाली चलचित्रहरू संयुक्तरूपमा निर्णायक समितिले १० विधामा पुरस्कारका लागि बोर्डलाई सिफारिस गरेको थियो । उक्त १० विधागत पुरस्कृतहरूलाई प्रमाणपत्र, नगद पुरस्कार २५ हजार र ट्रफी सहित पुरस्कृत गरिएको हो ।

२०७६ र ०७७ सालमा केन्द्रीय चलचित्र जाँच समितिबाट जाँचपास भएका चलचित्रहरूमध्येबाट चारवटा चलचित्रलाई विशेष चलचित्रबाट पुरस्कृत गरिएको र दुबै निर्णायक समितिलाई समेत सम्मान गरिएको छ । समारोहमा २०७६ र २०७७ को दीर्घ साधना सम्मानबाट दुईजनालाई जनही नगद पुरस्कार ३ लाख ५१ हजार १ सय ११ रूपैयाँ, ताम्रपत्र तथा दोसल्ला सहित सम्मान तथा चलचित्र क्षेत्रका विभिन्न विधाका ३३ जना विशिष्ट व्यक्तित्वहरूलाई समेत विशेष योगदान सम्मानबाट सम्मान गरियो ।

प्रमुख अतिथि राष्ट्रपति विधादेवी भण्डारीले पुरस्कार तथा सम्मान प्रदान गरेकी थिईन् । कार्यक्रम माननीय सञ्चार, सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता र चलचित्र विकास बोर्डका अध्यक्ष श्री दयाराम दाहालको अध्यक्षता संपन्न भएको हो ।

कार्यक्रममा बोर्डबाट प्रकाशन भएको चलचित्र मञ्च २०७८ पुस्तक समेत सार्वजनिक गरिएको थियो ।

कमेन्ट गर्नुहोस्