जलाशययुक्त आयोजनामा लगानी गर्न एडिबी उपाध्यक्षलाई ऊर्जामन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री पम्फा भुसाल र एसियाली विकास बैंक (एडीबी)का उपाध्यक्ष सिचीन छिनबीच भेटवार्ता भएको छ । मन्त्रालयमा आज भएको भेटमा मन्त्री भुसाल र एडीबी उपाध्यक्ष सिचिन छिनबीच ऊर्जा तथा सिञ्चाइसँग सम्बन्धित विषयमा छलफल भएको छ ।

 

छलफलमा मन्त्री भुसालले नेपालको विकासमा एडीबीले पुर्याएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत थप सहयोग हुने विश्वास व्यक्त गरिन् । ऊर्जा एवं सिञ्चाइका क्षेत्रको विकासबाट नेपाललाई समृद्ध बनाउन सकिने भएकाले त्यसमा अन्तर्राष्ट्रिय निकायसँग सहयोगको अपेक्षा रहेको मन्त्री उनको भनाइ थियो ।

पछिल्लो समय नेपाल–भारतबीच ऊर्जा क्षेत्रमा महत्वपूर्ण सहकार्य शुरु भइ विद्युत व्यापार शुरु भएको उल्लेख गर्दै मन्त्री भुसालले नेपालका ठूला आयोजना सम्पन्न गरेर अझै क्षेत्रीयस्तरमा व्यापार गर्न सकिने बताइन । ‘बङ्गलादेश, भुटान, भारत र नेपालमाझ ऊर्जा व्यापार गर्ने नीतिगत समझदारी जुटेको छ । केही वर्षभित्र नै हामीले ती देशमा विद्युत निर्यात गर्ने अवस्था आउँछ,’ उनले भनिन् ।

आगामी दिनमा देशभर बाह्रै महिना गुणस्तरीय विद्युत उपलब्ध गराउने गरी ऊर्जा मन्त्रालयले तयारी गरिरहेको जानकारी गराउँदै मन्त्री भुसालले जलाशययुक्त जलविद्युत आयोजनामा लगानी गर्न एडिबीलाई आग्रह गरिन् । उनले पूर्व–पश्चिम प्रशारणलाई निर्माणमा पनि एडिबीको सहयोग विस्तार हुने विश्वास व्यक्त गरिन् ।

छलफलमा एडीबीका उपाध्यक्ष छिनले नेपालले ऊर्जा क्षेत्रमा महत्वपूर्ण काम गरेको र अन्तरदेशीय विद्युत व्यापार नेपालका लागि महत्वपूर्ण भएको उल्लेख गरे । ‘भारतसँग ३६४ मेगावाट विद्युत व्यापार गर्ने सहमति नेपालका लागि महत्वपूर्ण खुड्किला हो, यसले आगामी दिनमा फड्को मार्ने मैले विश्वास गरेको छु,’ उनले भने ।

जलविद्युत् र जलश्रोतका क्षेत्रमा एसियाली विकास बैंकले निरन्तर सहयोग गर्ने विश्वास दिलाउँदै अध्यक्ष छिनले एडिबीको लगानी रहेका महत्वपूर्ण १० वटा महत्वपूर्ण आयोजनाहरूको कार्यान्वयन अवस्थालाई आफूहरूले नियालिरहेका बताए । विद्युतको आन्तरिक खपतमा जोड दिन सुझाव दिँदै कोइलाबाट सञ्चालन भएका उद्योगलाई पनि विद्युतले प्रतिस्थापन गर्नुपर्नेमा उनको जोड थियो ।

कमेन्ट गर्नुहोस्