होन्डुरसका पूर्व राष्ट्रपतिलाई अमेरिकामा सुपुर्दगी गरिने

काठमाडौ । होन्डुरसका पूर्व राष्ट्रपति हुवान एन्टोनियो हेर्नान्डेजलाई अमेरिकामा सुपुर्दगी गरिने भएको छ ।

अमेरिकी अदालतमा लागूऔषध कारोबारमा संलग्न लगायत मुद्दा लागेका हेर्नान्डेजलाई अमेरिका ल्याउन युएस ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसनको चार्टर्ड जहाजआज (बिहिबार) होन्डुरस जाने भएको छ ।

गत फेब्रअरीमा होन्डुरस प्रहरीले पक्राउ गरेका हेर्नान्डेजलाई आज (बिहिबार) नै अमेरिका लगिने अन्तर्राष्टिय संचारमाध्यमले जनाएका छन।अमेरिकाले हेर्नान्डेजको सुपुर्दगीका लागि गरेको अनुरोधलाई होन्डुरसको अदालतले स्वीकार गरेपछि उनलाई अमेरिका पठाउन लागिएको हो ।

हर्नान्डेज सन् २०१४ देखि गत जनवरीसम्म होन्डुरसका राष्ट्रपति रहेका थिए । उनी विरूद्ध लागूऔषध कारोबारीसँग मिलेर सयौं टन लागूऔषध अमेरिका पठाउन सघाएको आरोप छ । सो बापत उनले घुस लिएको अमेरिकी अभियोजनकर्ताको दावी छ।

तर पूर्वराष्ट्रपति हेर्नान्डेजले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन ।

कमेन्ट गर्नुहोस्