पार्टीको निर्णय नै सर्वेसर्वा भन्दै, खोले कांग्रेस कास्कीका नेताले कार्यलयमा लगाएको ताला

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले कास्की जिल्ला पार्टी कार्यालयमा लगाएको ताला खुलेको छ । महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि असन्तुष्ट पक्षले गत बुधबार पार्टी कार्यालयमा ताला लगाएको थियो ।

पार्टी निर्णय नसच्याएमा ताला नखोल्ने अडान लिए पनि अन्ततः असन्तुष्ट पक्ष पार्टी निर्णय मानेर जान सहमत भएको छ । ‘हामीले महानगरपालिका मेयर एकीकृत समाजवादीलाई दिने निर्णय गरेपछि ताला लगाएका थियौं, महानगरपालिकाका सबै साथीहरुसँग छलफल गर्दा पार्टीको निर्णय उल्लंघन गरेर जाने अवस्था छैन भन्ने भयो । त्यसपछि पार्टी कार्यालयमा लगाइएको ताला आज बिहान खोल्यौँ,’ कांग्रेसका एक जिल्ला नेताले भने ।

उनले महानगरको उपमेयर र वडामा सशक्त दाबेदारका रुपमा प्रस्तुत हुने र अरु स्थानीय तहमा धेरै भागबण्डा लिने तयारीका साथ अघि बढेको बताए । पार्टीको निर्णय नै सर्वेसर्वा भएकाले गठबन्धनको पक्षमा एक ढिक्का हुने निर्णय भएको उनको भनाइ छ ।

पाँच दलीय गठबन्धनको केन्द्रीयस्तरको निर्णय अनुसार पोखरा महानगरको मेयरमा एकीकृत समाजवादी र उपमेयरमा काँग्रेसबाट उम्मेदवार हुने छन् । यसअघि भने पोखराको मेयर र उपमेयर दुवै एमालेबाट निर्वाचित भएका थिए ।

कमेन्ट गर्नुहोस्