वैद्य,बाबुराम र बादलको लहलहीमा दुई तीनवटा गल्ती गरे आत्मआलोचित छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा पहिलो दल हुँदा वेद्य,बाबुराम र बादलको घराबन्दिमा परेर आफुले दुईतिन वटा गल्ती गरेको बताएका छन् । ती गर्ने नहुने गल्ती भएको भन्दै प्रचण्डले आत्मआलोचित भएको बताएका हुन् ।

प्रचण्डले पार्टीका साथीहरुको बहकाउमा आएर पहिलो दल भएको जनमतलाइ पचाउन नसकेर पखाला चलेको टिप्पणी गरेका छन् । कैलालीको मसुरियामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पहिलो दल हुँदा बुद्धि नपुर्याउँदा देशले अहिले पनि दुःख पाएको बताए ।

 

‘हामीलाई जनताले ०६४ मा देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिए । नेपाली जनताले माओवादीलाई यति धेरै विश्वास गरेका थियो कि एक्लै बहुमत भयो’ प्रचण्डले भने, ‘तर त्यो जीतलाई हामी माओवादीले पचाउन सकेनौं । माओवादीले त्यो विजयलाई पचाउन नसक्दा यो धर्ती छोड्न थाल्यो । हावामा उड्न थालियौ । अर्कोतिरभन्दा माओवादीलाई पखाला लाग्यो । माओवादीले जित पचाउन सकेन ।’

मोहन वैद्यतिर लक्षित गर्दै प्रचण्डले केही साथीहरुले यो जित दक्षिणपन्थीहरुको जित भएको टिप्पणी गरे । ‘प्रचण्डले यो पार्टी लगेर दक्षिणपन्थी भासमा लगेर हाल्यो भन्ने लाग्यो । प्रचण्डले यस्तो नगरेको भए काठमाडौ कब्जा गरिन्थ्यो नि केही समय भन्ने लागेर प्रचण्डसँग बस्नुहुन्न भनेर हिंड्नुभयो क्रान्ति गर्न हिंड्नुभयो’ प्रचण्डले भने, ‘साथीहरुको लहलहीमा लागेर दुई तीनवटा गल्ती गरे । मैले आत्मालोचना गर्न चाहन्छु ।’

अध्यक्ष प्रचण्डले तत्कालिन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउँदा पार्टीलाई धेरै ठूलो क्षति भएको बताएका छन् । उनले तीन महिनापछि आफै जाने प्रधानसेनापति कटवाल चलाउनु कमजोरी भएको स्वीकार गरेका हुन् ।

‘रुक्माङ्गत कटवाल तीन महिनापछि त्यसै जानेवाला थियो । दायाँतिर बादल बायाँतिर बाबुराम ठोक भन्छन् जतिबेला पनि । एउटालाई रक्षामन्त्री बनाएको ठोक ठोक भन्छन् । अर्को अर्थमन्त्रीले पनि यसलाई ठोकिहाल्ने हो भन्छन्’ प्रचण्डले भने, ‘म अलि लाटो सोझो पनि छु क्या । यिनीहरु मात्रै के कम भनेर ठोक्दिहाले त्यसपछि के हुन्थ्यो मेरै प्रधानमन्त्री पद गयो ।’ जनयुद्धमा जस्तै बाबुराम बादलले भनेको जस्तै हुन्न भनेको भए देशको स्थिति अर्कै अवस्था पुग्ने प्रचण्डले दाबी गरे ।

‘हामीले ०६४ मा बहुमत ल्याएपछि साथीहरुले हामीले यत्रो जितेका छौं । राष्ट्रपति पनि हाम्रै चाहिन्छ प्रधानमन्त्री पनि हाम्रै चाहिन्छ । उपराष्ट्रपति पनि हाम्रै चाहिन्छ भन्दा हुन्छ भन्दिए ’ प्रचण्डले भने, ‘विचरा बुढो गिरिजालाई जोसँग हस्ताक्षर गरेर शान्ति सम्झौता भयो । जसले जीन्दगीभर राजतन्त्र भनेको मान्छे मर्ने बेलामा गणतन्त्र भनेर माओवादीसँग हात मिलाएर आए । त्यस्तो बुढालाई राष्ट्रपति बनाउन पाइएन ।’ यदि गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाएको भए शान्ति सम्झौता अझ राम्रो गरेर टुंगो लाग्नुका साथै संविधान अझ प्रगतिशील बन्ने उनले बताए । पार्टीका नेताहरुको लहलहीमा लागेर पाँच वर्ष चल्ने सरकार बीचमै ढलेको प्रचण्डको भनाई थियो ।

कमेन्ट गर्नुहोस्