इच्छाकामनाको माओवादी केन्द्रले भन्यो–अध्यक्ष र उपाध्यक्ष दुवै कांग्रेसलाई दिन सकिँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रले चितवनको इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नेपाली कांग्रेसले पाउने भनि जिल्ला स्तरीय संयन्त्रले गरेको निर्णयको विरोध गरेको छ।

चितवनको सत्ता गठबन्धनका दलहरूको संयन्त्रको बैठकमा इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले पाउने सहमति भएको थियो।

माओवादी केन्द्रको गाउँपालिका कमिटीको बिहीबार बसेको आकस्मिक बैठकले उक्त भागबण्डालाई अवैज्ञानिक र वस्तुगत नभएको भनेको छ।

‘संयन्त्रको निर्णयप्रति आपत्ति प्रकट गर्दै पुनर्विचार गर्न अनुरोध गर्ने, अन्यथा यसबाट पर्न जाने असरको जिम्मेवार गठबन्धन नै हुनुपर्ने निर्णय गरियो,’ उक्त गाउँपालिकाको अध्यक्ष पदका दाबेदार प्रताप गुरूङले भने।

पार्टीको बागमती प्रदेश सदस्य रहेका गुरूङ अघिल्लो निर्वाचनमा पनि अध्यक्ष पदका उम्मेदवार थिए।

उनले भागबण्डा गर्दा माओवादी केन्द्रलाई अध्यक्ष वा उपाध्यक्षमध्ये एक पद चाहिने बताए।

‘अध्यक्ष दिने हो भने तीन वडाध्यक्ष चाहिन्छ, उपाध्यक्ष दिने हो भने ४ जना वडाध्यक्ष चाहिन्छ भन्ने हाम्रो माग छ,’ उनले भने।

आकस्मिक बैठकले यस विषयमा छलफल गर्न शुक्रबार गाउँपालिका कमिटीको विस्तारित बैठक राख्ने निर्णय गरेको छ।

गठबन्धनको बैठकले कांग्रेसले रत्ननगर, खैरहनी, कालिका नगरपालिकाको मेयर र इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, माओवादीले माडी र एकीकृत समाजवादीले राप्ती नगरपालिकाको मेयर पाउने गरी स्थानीय तहहरूमा भागबण्डा गरेको समाचार बाहिरिएको थियो।

भरतपुर महानगरपालिकाको मेयर माओवादीले उपमेयर कांग्रेसले पाउने सहमति केन्द्रीय गठबन्धनले यसअघि नै गरिसकेको छ।

इच्छाकामना गाउँपालिकाबाट नेकपा एमालेले दानबहादुर गुरूङलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

कमेन्ट गर्नुहोस्