काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लीलाप्रसाद शर्माले अवाञ्छित रूपमा मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिहरूलाई तत्काल कारबाही गर्ने चेतावनी दिएका छन्।
बिहीबार विभागमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक शर्माले पछिल्लो समय अत्यधिक मात्रामा मूल्यवृद्धि र वस्तु अभावको गुनासो बढेकाले आयातकर्ता, वितरक, खुद्रा वितरकहरूले काबुबाहिरको परिस्थिति देखाएर सहज हुँदा–हुँदै पनि मूल्यवृद्धि गरेको विषयमा अध्ययनपछि तत्काल कारबाही गर्ने तयारी गरिएको बताए ।
मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४ टोली बनाएर बजारमा पठाएको उनले बताए ।
महानिर्देशक शर्माले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विगत एक वर्षमा औसतमा ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएता पनि विभागको नियन्त्रण भन्दा बाहिर रहेको बताए । अब विभागबाट हुने सम्पूर्ण काम उपभोक्ताले अनलाइन प्रणाली मार्फत गर्न सक्ने बनाउन सुरु गरिएको महानिर्देशक शर्माको भनाइ छ ।
विभागले चालु आर्थिक वर्षको अहिलेसम्मको अवधिमा २ हजार १ सय ८७ व्यापारीक फर्महरूलाई अनुगमन गरी कैफियत देखिएका १ हजार १२ फर्महरुलाई कारबाही गरेको जानकारी दिएको छ ।
त्यस्तै, विभागले १ हजार १२ फर्महरूलाई कारबाही गरे वापत् १ करोड १८ लाख ८७ हजार ५०० सय रुपैयाँ जरिवाना गरिएको बताएको छ । विभागले अनुगमनको क्रममा अनुचित व्यापारिक क्रियाकलाप भएको पाइएमा उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानून बमोजिम जरिवाना तथा सजाय गर्ने जनाएको छ ।