मेयर बनेर देवचुलीको मुहार फेर्छु भन्दै उपसचिवबाट राजिनामा

पूर्वीनवलपरासी । नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पूर्वीनवलपरासीको देवचुली नगरपालिकामा मेयरको उम्मेदवार बन्नका लागि उपसचिव पदबाट राजीनामा दिएका छन् । हाल संघीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रबार राजिनामा दिएका हुन्।

देवचुलीलाई आउँदो ५ वर्षमा सबैले हेर्न लायक बनाउने अथक प्रयास गर्ने बताउदै राजिनामा दिएका भुसालले देवचुलीका सबै साथीभाईहरुको अग्रहमा आफु तस्तो निर्णयमा पुगेको बताए ।उनले करिब २५ वर्षको जागिरे जीवनको अनुभवबाट देवचुलीको काँचुली फेर्न इमान्दार प्रयास गर्ने बताएका छन् ।

देवचुली नगरपालिकाका स्थायी बासिन्दा भुसालले नेपाली कांग्रेसबाट उम्मेदवार हुने इच्छा राखेका छन् । उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनी कुशल प्रशासक र राम्रो छवि भएका मानिन्छन् । स्थानीय मतदाताको आग्रहअनुसार आफूले राजीनामा दिएर पार्टी राजनीतिमा आएको सुनाए । उनलाई जिल्ला पार्टी सभापति महेन्द्रध्वज जीसी र कांग्रेस गण्डकीका महामन्त्री विष्णु लामिछाने र अर्का नेता डा.शशांक कोइरालाले राजनीतिमा आउन ग्रिन सिग्लन दिएका कारण राजनीतिमा होमिएको गाउँमा चर्चा छ ।

देवचुली नगरपालिकामा यसअघिको निर्वाचनमा पनि मेयरसहित बहुमत कांग्रेसले जितेको हो । ५५ सालअघि उनी साविकको देवचुली गाउँ कमिटीको कांग्रेस सभापति थिए । पछि लोकसेवा पास गरेर निजामतीमा प्रवेश गरेका थिए ।

कमेन्ट गर्नुहोस्