ऊर्जामन्त्री भुसालसँग स्टोनियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि इस्टोनियाका नवनियुक्त राजदूत केटरिन किभीले आज शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको उहाँहरूबीचको भेटमा आपसी सम्बन्ध र चासोका विविध विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री भुसालले दुई देशबीचमा जनस्तरको सम्बन्ध विस्तारका लागि पर्यटन आवागमनलाई थप प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएकी छन् । उनले विश्वका बहुपक्षीय मञ्चमा दुई देशको धारणा समान रहेको उल्लेख गर्दै आगामी दिनमा पनि थप सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याइन्।

जलविद्युत विकासमा नेपाल निरन्तर लागि परेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, “नेपाल जलविद्युत लगानीको महत्वपूर्ण क्षेत्र हो । इस्टोनियाका सरकारी तथा निजी क्षेत्रलाई नेपालमा लगानीका लागि आग्रह गर्न चाहन्छु ।” उनले आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास व्यक्त गरिन् ।

त्यस अवसरमा राजदूत किभीले इस्टोनिया ‘साइबर’ सुरक्षामा सबल देश रहेको जानकारी दिंदै नेपालसँग सहकार्य गर्न सकिने बताइन् । उनले ‘इ–कमर्स’ का विषयमा पनि स्टोनिया र नेपालबीच सहकार्य गर्न सकिने भन्दै त्यसका लागि सरकारी तवरमा छलफल आवश्यक रहेको बताएकी थिइन् ।

नेपाल र स्टोनियाबीच सन् १९९२ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि सुमधुर सम्बन्ध रहँदै आएको छ ।

कमेन्ट गर्नुहोस्