गठबन्धनबाट काठमाडौंको मेयर उम्मेदवार सिर्जना सिंह

काठमाडौं । सत्तारुढ गठबन्धनले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने भएको छ । गठबन्धनमा काठमाडौंको मेयर पदमा नेपाली कांग्रेसले उम्मेदवारी दिने सहमति छ । उम्मेदवार छान्न बसेको कांग्रेसका शीर्ष नेताहरूको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति जुटाएको हो ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवार छान्न बिहीबारदेखि पार्टीभित्र शीर्ष नेताहरूसँग छलफल गरिरहेका छन् ।

शुक्रबार राति पनि अबेरसम्म बसेको बैठकले काठमाडौंको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउने सहमति गरेको बैठकमा सहभागी एक नेताले पुष्टि गरे । कांग्रेसकी महाधिवेशन प्रतिनिधि रहेकी सिंह नेता प्रकाशमान सिंहकी पत्नीसमेत हुन् ।

उम्मेदवारको टुंगो लगाउन सभापति देउवाले विहान ११ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा कार्यसम्पादन समितिको बैठक राखेका छन् । बैठकअघि उम्मेदवारको नाम टुंगो लगाउने र बैठकमा अनुमोदनका लागि पेश गर्ने उनको तयारी छ ।

कमेन्ट गर्नुहोस्