निर्वाचन आयोगको निर्देशनले रोकियो साडी बाँड्ने कार्यक्रम

काठमाडौं । निर्वाचन आयोगको निर्देशनपछि चन्द्रागिरि नगरपालिकाको एउटा वडाले आयोजना गरेको साडी बाँड्ने कार्यक्रम रोकिएको छ।

निर्वाचन आचारसंहिताको उल्लंघन गर्दै वडा नम्बर ८ ले शनिबार महिलाहरूलाई साडी बाँड्ने कार्यक्रमको आयोजना गरेको थियो। शुक्रबार वडाध्यक्ष सन्तोष खड्काले हस्ताक्षर गरेको एक सूचनामा महिलाहरूलाई शनिबार दिउँसो २ बजे साडी बाँड्न लागेको सुचना निकालेका थिए।

‘वडा कार्यालयमा साडी पाऊँ भनी आवेदन दिनुभएका दिदी बहिनीहरूले तपसिलको मिति, समय र स्थानमा साडी बाँड्ने कार्यक्रम रहेकोले वडा कार्यालयमा आई साडी बुझिलिनु हुन अनुरोध छ,’ वडाध्यक्ष खड्काले जारी गरेको सूचनामा उल्लेख छ।

आयोगको मौखिक निर्देशन पछि वडाध्यक्ष खड्काले साडि बाड्ने कार्यक्रम रोकेका हुन् ।
आयोगका सहसचिव यज्ञ भट्टराईले सम्बन्धित वडाध्यक्षलाई फोन गरेर साडि बाड्न तुरून्त स्थगित गर्न भनेर कडा रूपमा मौखिक निर्देशन दिएका थिए ।

तर वडाले पुनः अर्को सूचना जारी गर्दै त्यस सूचनाको खण्डन गरेको छ। त्यस सूचनामा साडी वितरण गर्ने आयोजना नगरिएको उल्लेख छ।

सूचना जारी गरेको पुष्टि गरे पनि सो कार्यक्रम नगरिएको एका जना वडा सदस्यले बताए । तर यसअघि वडा सदस्य सविना राउतले साडी बाँड्ने कार्यक्रम राखिएको पुष्टि गरेकी थिइन्।

यस कार्यक्रममा उपस्थित हुन हिजो नै आफूलाई वडा सदस्य कृष्णमाया पुर्कोटीले जानकारी दिएको उनले बताएकी थिइन्। तर त्यसमा आफू उपस्थित नभएको राउतको भनाई थियो।

उनका अनुसार २८ वटा समूहका महिलाहलाई ७०० बढी साडी बाँड्न लागेको थियो।

वितरण गर्न दुई सय बढी साडी एक महिनाअघि नै ल्याएको उनको भनाई थियो । बाँकी साडी भने पछि मात्रै ल्याएको उनले जानकारी दिएकी थिईन्।

प्रत्येक साडी एक हजार २५० रुपैयाँका दरले किनेको उनले बताएकी छन्।

उनका अनुसार वडाध्यक्ष खड्का यसपालि पनि वडाध्यक्षका दाबेदार हुन्। उनी २०७४ सालमा एमालेबाट निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्