१६ औं लोकतन्त्र दिवस आज : चुनावी कार्यक्रमले ओझेलमा

काठमाडौं । आज १६ औं लोकतन्त्र दिवस । लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । विगतका वर्षहरुमा लोकतन्त्र दिवसको अवसरमा विशेष कार्यक्रमहरु हुने गरेको भएपनि यो वर्ष चुनावको रस्साकस्सीले यो दिवस ओझेलमा परेको जस्तो देखिएको छ ।

०६२–६३ सालमा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन विरुद्ध भएको जनआन्दोलनले सफलता प्राप्त गरेको वैशाख ११ गतेलाई लोकतन्त्र दिवसको रुपमा मनाउँदै आइएको छ । १९ दिनसम्म चलेको जनआन्दोलनबाट २०६३ साल बैशाख ११ गते संसद् पुनर्स्थापना भएको थियो ।

सोही आन्दोलनपछि पुनर्स्थापना संसदले तत्कालिन अवस्थामा राजामा रहेका सम्पूर्ण अधिकार जनतामा फर्काएको थियो भने दश वर्षदेखि देशमा हिंसा मच्चाईरहेको माओवादीलाई पनि शान्ति प्रक्रियामा ल्याएको थियो ।

माओवादीलाई पुनःस्थापित संसदमा मनोनित गरिएको थियो भने सोही संसदले संविधानसभाको चुनावपछि मुलुकलाई गणतन्त्रमा लैजाने प्रस्ताव पारित गरेको थियो । जस अनुसार २०६४ सालमा भएको संविधानसभाको चुनावपछि मुलुक गणतान्त्रिक प्रणालीमा प्रवेश गरेको हो । तर, लोकतन्त्र स्थापना भएको १६ वर्ष पुग्दा पनि मुलुकमा लोकतन्त्र भने संस्थागत नसकेको र दलियतन्त्र हावी हुँदै गएको गनासोहरु आउने गरेका छन् ।

कमेन्ट गर्नुहोस्