नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा २०२२ हुँदै

काठमाडौं । मन्टेश्वरी एसोसिएसन नेपालले यही वैशाख २३ र २४ गते नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल (निप्स)– २०२२ आयोजना गर्ने भएको छ । ‘खेल शान्तिका लागिः खेल सबैका लागि‘ भन्ने मूल नारासहित सन् २०१८ मा यस संस्थाले पहिलो उपत्यकाव्यापी मन्टेश्वरी तथा प्रिस्कुलहरुमाझ अन्तर पूर्व प्राथमिक विद्यालय खेल कार्यक्रमको आयोजना गरेको थियो ।

नेपाल अन्तर पूर्व प्राथमिक विद्यालय खेल ताफिसा– २०२२ का बारेमा कुराकानी गर्दै मन्टेश्वरी एसोसिएसन नेपालका अध्यक्ष एवं मन्टेश्वरी चेन अफ स्कुलकी प्रिन्सिपल सुष्मा सुब्बा लामाले भनिन्, “तपाईं हामीले आआफ्ना विद्यालयमा वार्षिक खेलकुदका विभिन्न कार्यक्रमहरु आयोजना गर्दै नै आइरहेका हुन्छौँ । तर त्यस्ता कार्यक्रमहरुको दायरा विद्यालय वरिपरि तथा अभिभावकहरुमाझ मात्रै सीमित रहने भएकोले यस वर्षदेखि देशभित्र मात्र सीमित नभएर ताफिसामार्फत् अन्तर्राष्ट्रियस्तरमै प्रचारप्रसार होस् र यस कार्यक्रमले विश्व खेल जगत्मै एउटा नयाँ आयामको थालनी होस् भन्ने हेतुले यस संस्थाले नेपाल क्वानमुकान डो एसोसिएसनमार्फत् धेरै प्रयास र अनुरोधमा ताफिसाको सहमति (प्याट्रोनेज) हासिल गरी निप्सको आयोजना गर्न लागिएको हो ।“

पूर्व मेचीदेखि पश्चिम धनगढीलगायत देशका जम्मा ११ ठाउँमा सो खेलकुद कार्यक्रमको आयोजना गरिनेछ । खेलमा सयभन्दा बढी मन्टेश्वरी तथा प्रिस्कुलहरुलाई संलग्न गराई हजारभन्दा बढी बालबालिकालाई विभिन्न बालसुलभ खेलहरुमा सहभागी गराइने समेत सुब्बाले बताइन् । कार्यक्रमका अवसरमा बालमनोविज्ञानलाई मध्यनजर गर्दै प्रत्येक सहभागीलाई टिसर्ट, मेडल र प्रमाणपत्र दिइनेछ । पहिलो दिन अर्थात् वैशाख २३ गते चारदेखि पाँच वर्ष उमेर समूहका बालबालिकालाई खेल खेलाइनेछ भने दोस्रो दिन पाँचदेखि ६ वर्ष उमेर समूहकाले सो मौका पाउनेछन् ।

खेलका क्रममा बालबालिकाहरुले एक मिटरदेखि ५० मिटरसम्मको दौडमा विभिन्न गतिविधिहरु गर्नेछन् । चारदेखि पाँचवर्ष उमेर समूहका बालबालिकाका लागि ५० मिटरमा खुला दौड, २५ मिटरमा बेलुन फुटाइ दौडने, १५ मिटरमा एकपल्टमा बढीमा दुईवटा बल जम्मा गर्ने, अर्को १५ मिटरमा हातमा ल्याएको पानी बोतलमा भर्ने, २५ मिटर दौडदै धागोमा झुण्ड्याइएको चकलेट मुखमा लिएर फर्कने, १५ मिटरको दौडमा प्लेटमा एउटा अण्डा राखेर दौडदै फर्कने, एक मिटरको दौडमा बाल्टीको पानीमा दशवटा बल हाल्ने जस्ता खेलहरुको आयोजना गरिनेछ । त्यस्तै पाँचदेखि छवर्ष उमेर समूहका लागि ७५ मिटर खुला दौड, ५० मिटर बोरा दौड, आफ्नो ट्राकमा फुटबललाई गुडाउँदै १०० मिटर पुर्याउने, टाउकोमा एकैखाले प्लेट राखेर २५ मिटर हिड्ने, १५ मिटरबाट प्लेटमा एउटा अण्डा राखेर ल्याउने, दुई मिटरको दुरीबाट बाल्टीमा १० वटा बल हाल्ने, २० मिटर दौडेर सियोमा धागो हाली पुरानै ठाउँमा फर्कने, १०० मिटर खेलाडीहरुलाई चार भागमा बाँढेर रिले दौडने जस्ता खेल खेलाउने तयारी गरिएको छ ।

आजकाल सानैदेखि अत्यधिक अनलाईन गेम तथा कम्प्युटरको प्रयोगले गर्दा बालबालिकाहरुमा भविष्यमा आउन सक्ने शारीरिक तथा मानसिक असरलाई मध्यनजर गर्दै उनीहरुलाई पूर्व बाल्य अवस्थादेखि खेलकुदमार्फत् आफूलाई तन्दुरुस्त राख्न प्रोत्साहन गर्ने, भविष्यमा बयष्क भएपछि खेलमार्फत् नै आफू र देशलाई विश्वसामु चिनाउन पूर्व बाल्य अवस्थादेखि नै अभ्यास गर्न प्रेरित गर्ने, देशैभरिका मन्टेश्वरी तथा प्रिस्कुलहरुमाझ खेल कार्यक्रममार्फत् एक आपसमा परिचय, सुमधुर सम्बन्ध कायम तथा एकरुपता ल्याउने, समाजमा देखिएका नकारात्मक टिकाटिप्पणीहरुलाई चिर्दै मन्टेश्वरी तथा प्रिस्कुलहरुले प्रारम्भिक शिक्षामा भूमिका, योगदान, मूल्यांकन, मान्यता कायम गर्ने यस खेलकुद कार्यक्रमका प्रमुख उद्देश्यहरु रहेका छन् ।

ताफिसा अर्थात् ‘द एसोसिएसन फर इन्टरनेस्नल स्पोर्ट फर अल‘ नामक संस्थामा संसारका १५० देशका २७० सदस्यहरु रहँदै आएका छन् । विश्वका सबै मान्छेलाई खेलका माध्यमबाट स्वस्थ र सक्रीय जीवनमा ल्याउन यस ताफिसाले विगत लामो समयदेखि भूमिका खेल्दै आइरहेको छ ।

कमेन्ट गर्नुहोस्