गोरखामा कांग्रेस एक्लै चुनाव लड्ने, जसपाको कारण गठबन्धन भत्केको आरोप

काठमाडौं । गोरखामा सत्तागठबन्धनबीच स्थानीय चुनावमा तालमेल नहुने भएको छ।

आठ पटकसम्म सत्तागठबन्धनका जिल्लास्तरका नेताहरूबीच चुनावी तालमेलका लागि छलफलमा बसे पनि भागबन्डाबारे कुरा मिलेको थिएन।

उम्मेदवारी दर्ता गर्ने दिनसम्म दलहरूबीच सहमति नजुटेपछि नेपाली कांग्रेसले मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको हो।

कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले ११ वटै स्थानीय तहमा सोमबार कांग्रेसका उम्मेदवारहरूले उम्मेदवारी दर्ता गर्ने बताए।

उनकाअनुसार अब सत्तागठबन्धनका दलहरूसँग मित्रवत प्रतिस्पर्धा हुनेछ। केन्द्रले चुनावी तालमेल गर्न हस्तक्षेप गरे पनि अब नमान्ने सभापति न्यौपानेको भनाई छ ।

०७४ को स्थानीय चुनावमा ११ मध्ये ९ स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको थियो। २ स्थानीय तह प्रमुख भने नेकपा माओवादी केन्द्रले जितेको थियो।

यसपालि चुनावमा चुनावी तालमेल गर्दा माओवादीले छ वटा स्थानीय तह मागेको थियो। नेकपा एकीकृत समाजवादीले एक पालिका र केही वडा मागेको थियो।

जसपाले भने सुरूदेखि नै मित्रवत प्रतिस्पर्धा भनिरहेको थियो। उसले गठबन्धन बैठकमा नेकपा एमालेले जितेका वडामा भने मिलेर चुनाव लड्नुपर्ने प्रस्ताव गरिरहेको थियो। तर चुनावी तालमेलका बैठकमा जसपाले पछिल्ला दिनमा दुई स्थानीय तह पाउनुपर्ने माग राख्न थालेको थियो।

कांग्रेसले आजै बिहान जिल्ला कार्यसमिति बैठक राखेर आफ्नै संगठनको बलमा चुनावमा जाने निर्णय गरेको हो।

तर निर्वाचनबारे थप कुराकानी गर्न पर्ने देखिए गठबन्धनमा रहेका दलहरूसँग संवादका ढोका भने खुला रहने सभापति न्यौपानेले बताए।

सुरूमा एक्लै चुनाव लड्ने बताएको जसपा गोरखाले हिजोआज भने संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईमार्फत् चुनावी तालमेल गरेर जान दवाव दिएको आरोप कांग्रेसको छ।

जसपाकै कारण चुनावी गठबन्धन भत्केको आरोप कांग्रेसले लगाएको छ।

कमेन्ट गर्नुहोस्