कञ्चनपुरमा माओवादी र एकीकृत समाजवादीबीच ९ वटै तहमा सहमति (सूचिसहित)

महेन्द्रनगर, आसन्न स्थानीय निर्वाचनका लागि कञ्चनपुरमा माओवादी केन्द्र र नेकपा समाजवादीबीच तालेमेल हुने भएको छ ।

दुबै दलका शीर्ष नेताहरुबीच तीनदिनसम्म निरन्तर चलेको छलफलपछि जिल्लाका नौ वटै स्थानीय तहमा वडा र सदस्य तहसम्म नै गठबन्धन गरेर जाने सहमति जुटेको हो ।

नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रचार प्रसार समिति प्रमुख गोकर्ण भट्टले दिएको जानकारी अनुसार, नेपाली कांग्रेससहित गठबन्धन गर्ने प्रयास असफल भएपछि नेकपा एकीकृत समाजवादीसँग तालमेलका लागि छलफल भएको थियो ।
सत्तारुढ गठबन्धनको केन्द्रीय संयन्त्रले तय गरेका मापदण्डमा टेकेर स्थानीय अवस्था, निर्वाचनमा विजय हासिल गर्ने अनुकुलता र अन्य विविध पक्षलाई समेत ध्यानमा राखेर वडातहसम्म नै गठबन्धन गर्ने सहमति जुटेको उनले बताए ।

दुबै दलबीच भएको सहमति अनुसार, नेकपा माओवादी केन्द्रले नौ स्थानीय तहमध्ये ५ तहमा प्रमुख र ६ तहमा उपप्रमुख लिने सहमति भएको छ । यसैगरी नेकपा एकीकृत समाजवादीले चार तहमा प्रमुख र ३ तहमा उपप्रमुख पाउने सहमति जुटेको छ ।

यो अनुसार, जिल्लाका बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका, बेल्डाँडी गाउँपालिका, कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा नेकपा माओवादीले प्रमुख पाउने छ भने नेकपा एकीकृत समाजवादीले पुनर्वास नगरपालिका, वेदकोट नगरपालिका, भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकामा प्रमुखमा उम्मेदवारी दिने छ ।
उपप्रमुखमा भने नेकपा माओवादी केन्द्रले बेल्डाँडी र लालझाडी तथा एकीकृत समाजवादीले पाएका अन्य सबै पालिकामा समेत उम्मेदवारी दिने सहमति जुटेको छ ।
सत्तारुढ गठन्धनका दलहरुबीच सहमतिको प्रयास भएपनि नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई दुई दुई वटा स्थानीय तह मात्र दिने भएपछि सहमति जुटेको थिए ।

कांग्रेससँग सहमति नजुटेपछि नेकपा माओवादी केन्द्रका प्रदेश र जिल्लास्तरका नेताहरुले एकीकृत समाजवादीसँग वार्ता शुरु गरेका थिए ।
यो निर्णयसँगै कञ्चनपुर जिल्लाका नौ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहमा दुई दलको जीत सुनिश्चित देखिएको छ ।

यस्ताे छ सहमति पत्र

स्थानीय तहको निर्वाचन २०७९ का सन्दर्भमा कञ्चनपुर जिल्लामा नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)बीच भएको सहमति

हजारौं शहीद, वेपत्ता, घाइते, जेलबन्दी, अपांग तथा आम न्यायप्रेमी जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र, संविधान तथा उपलब्धिहरु नै धरापमा पार्नेगरी भएको प्रतिगमनविरुद्ध संघर्षका क्रममा वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको सर्वविदितै छ ।

समाजका सबै तह र तप्काको कडा प्रतिरोधपछि प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सफल भएपनि यथास्थितिवादी, पुनरुत्थानवादी र प्रतिगामी देशी विदेशी शक्तिहरुको षडयन्त्र निरन्तर जारी नै रहेपछि निर्वाचनमा समेत गठबन्धनकै निरन्तरता दिन आपसी तालमेल गर्ने र निर्वाचनलाई अग्रगमन र प्रतिगमनविरुद्धको संघर्ष ठहर गर्दै यसलाई लोकतन्त्र जोगाउने संघर्षकै कडीका रुपमा उपयोग गर्ने नीति लिएको हो । सोही अनुरुप गठबन्धनले केन्द्रीय, प्रदेश र स्थानीयतहमा गठबधनका दलहरुको संयन्त्र निर्माण गर्दै चुनावी गठबन्धनको गृहकार्य गर्न निर्देशन गरेको थियो ।

गठबन्धनको निर्णय अनुरुप कञ्चनपुर जिल्लामा समेत हामी गठबन्धनसँग सम्बद्ध दलहरुले सबै दलहरुको सहअस्तित्व तथा संगठनात्मक स्थितिलगायतका कतिपय पक्षहरुको मूल्यांकन गर्दै यस जिल्लाका नौ वटै तहमा सहकार्यका लागि गम्भीर गृहकार्य शुरु गरेको भएपनि गठबन्धनका सबै दलहरुबीच समझदारी भने बन्न सकेन । गठबन्धनको ऐतिहासिक मर्म, भावना, उद्देश्य तथा अनिवार्यताको गाम्भीर्यता बुझ्न नसक्दा र यो निर्वाचनलाई सामान्य निर्वाचनको रुपमा मात्रै लिएर यान्त्रिकरुपमा गठबन्धन गर्न खोज्दा यो प्रयास सम्भव हुन सकेन ।

यो परिस्थितिमा नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीबीच कञ्चनपुर जिल्लामा चुनावी सहकार्य गर्ने सम्बन्धमा निम्नबमोजिमको सहमति भएको छ ।

क. सहमति

१. दुबै दलहरुबीच कञ्चनपुरका नौवटा स्थानीय तहमध्ये नेकपा माओवादी केन्द्रले ५ वटा स्थानीय तहमा प्रमुख लिने तथा नेकपा एकीकृत समाजवादीले ४ वटा स्थानीय तहमा प्रमुख पद (मेयर वा अध्यक्ष)मा उम्मेदवारी दिने सहमति भयो ।

२. उपमेयर तथा उपाध्यक्षको हकमा ६ वटा तहमा माओवादी केन्द्र र तीनवटा तहमा नेकपा एकीकृत समाजवादीको उपप्रमुख रहने सहमति भयो ।

३. जिल्लाका नौ वटै स्थानीय तहका कूल ९२ वटा वडाहरुमा समेत चुनावी गठबन्धन गर्ने सहमति अनुरुप दुबै दलको जनाधार, सम्भावित उम्मेदवारहरुको लोकप्रियता, प्रतिगमनकारी शक्तिहरुलाई परास्त गर्नुपर्ने स्थिति, समावेशी तथा समानुपातिक प्रतिनिधित्वको नीतिलाई समेत ध्यानमा राखेर निम्न बमोजिम सहमति भएको छ ।

४. उपरोक्त सहमति बमोजिम दुबै दलले निर्वाचन प्रचार प्रसार अभियानलाई संयुक्तरुपमा अघि बढाउने, गठबन्धनको औचित्य र आवश्यकताबारे आम जनतालाई मतदाता शिक्षा अभियानका क्रममा सचेत तुल्याउने तथा एकताबद्ध र उच्च स्पिरिटका साथ चुनावी अभियानलाई तीब्रता दिने निर्णय भयो । यसका लागि दुबै पार्टीका जिल्ला तथा स्थानीय समितिहरुले संयुक्त चुनावी अभियानका लागि संयन्त्र निर्माण गर्दै आपसी सहकार्य घनिभूत गर्ने निर्णय गरियो ।
५. पालिका प्रमुख तथा उपप्रमुख आ आफ्नै दलको चुनाव चिन्हबाट लड्ने र वडाको हकमा भने जुन दलको वडा अध्यक्ष हुन, उक्त वडाका सबै सदस्य (दुबै दलका) सोही दलको (वडाध्यक्षको) चुनाव चिन्हमा लड्न माथिल्लो निकायलाई अनुरोध गर्ने निर्णय गरियो ।
६. निर्वाचनमा विजय हासिल गर्नका लागि स्थानीय आवश्यकता, लोकप्रियता, समावेशी, समानुपातिक प्रतिनिधित्वको मर्मलाई आत्मसात गरी दुबै दलबीच अधिकतम समझदारीका आधारमा उम्मेदवार छनौट गर्ने सहमति भयो ।

मिति २०७८ चैत्र ११ गते

कमेन्ट गर्नुहोस्