पूर्व जिल्ला कमिटी सचिवालय सदस्य खरेलद्वारा एमाले परित्याग

पश्चिम नवलपरासी। नेकपा एमाले पश्चिम नवलपरासीको १० औँ महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला कमिटी सचिवालय सदस्य लेखनाथ खरेलले पार्टीबाट राजीनामा दिएका छन्। वि।सं। २०४६ सालदेखि नै विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका खरेलले आफूलाई स्थानीय निर्वाचनमा उपेक्षा एवं बेवास्ता गरिएको भन्दै नेकपा एमालेको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

पार्टीका केही व्यक्तिहरूले नेकपा एमाले कब्जा गरेको र योगदान दिने सस्यहरूलाई किनारा लगाएको खरेलको आरोप छ। पछिल्लो समयमा पार्टीमा आफूलाई भूमिकाविहीन गराएको र जिल्ला अधिवेशनमा सदस्य पदमा चुनाव हारेको व्यक्तिलाई प्रदेश कमिटीमा मनोनीत गर्दा आफ्नो नाम जिल्ला इन्चार्ज, सह इन्चार्ज र जिल्ला अध्यक्षले सहमति गरेर पेस गरेको लिष्टनै च्यातिएको भन्दै सो अवस्था आफूलाई अत्यन्तै असहज भएकाले पार्टीबाट राजीनामा दिनुपरेको बताए।

साथै पार्टीमा काम गर्ने र योगदान भएका दक्ष पार्टी सदस्यको बेवास्ता गर्दै आर्थिक तथा कृपावादको चलखेलले पार्टीलाई गतिहीनतातर्फ लैजाँदै गरेको परिदृश्यमा पार्टीको गलत क्रियाकलापको पछि लागेर पार्टीको झन्डा बोकी रहनु सान्दर्भिकता नभएको समेत खरेलले बताए। साथै आफ्नो राजीनामाले सम्पूर्ण शुभचिन्तकहरूलाई पर्न गएको असुविधाप्रति माफी माग्दै आफूले पार्टीभन्दा बाहिर बसेर देश र समाजप्रति सदैव सकारात्मक र रचनात्मक भूमिका खेल्ने खरेलले बताए।

कमेन्ट गर्नुहोस्