ललितपुर उपमहानगरमा उपमेयरका उम्मेदवार बाबुराज बज्राचार्य

राजनीति र समाजसेवा सँगसँगै

 

रामहरि कार्की
ललितपुर । राजनीति यसै पनि कठिन काम । समाजसेवा झन् अर्को कठिन यात्रा । यी दुवै कठिन कामलाई एकैसाथ लैजान सक्ने सफल व्यक्ति हुन् ललितपुर पाटन बुःवहालका बावुराज बज्राचार्य । चार दशकदेखि दुबै कठिन कामलाई सफलतापूर्वक अगाडि बढाउँदै आएका नेकपा (माओवादी केन्द्र) का नेता बज्राचार्य आसन्न वैशाख ३० हुने स्थानीय तह निर्वाचनमा ललितपुर महानगरको उपमेयरमा सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका छन् । उनै बज्राचार्यको सामाजिक र राजनीतिक यात्राको सङ्घर्ष यहाँ प्रस्तुत गरिएको छ ।
को हुन् बज्राचार्य ?
पाटन बुःवहालमा २०२४ कात्तिकमा जन्मिएका बज्राचार्य बाल्यकालदेखि नै विद्रोही स्वभावका थिए । उनी १२ वर्षको उमेरदेखि नै बहुदलीय व्यवस्थाको लगि निलो झण्डा बोकेर हिडे । सानै उमेरदेखि सामाजिक र राजनीतिक क्षेत्रमा लागेका बज्राचार्य हालसम्म पनि पार्टी र समाजको तल्लो तह तप्कामा बसेर अनवरत खटिइरहेका छन् ।
बज्राचार्यले लगनखेलको नमुना मच्छिन्द्र कलेजबाट स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् । त्यसअघि उनले आदर्श सरल माविबाट एसएसलसी उत्तिर्ण गरेका थिए ।

राजनीतिक यात्रा र सङ्घर्ष
२०३५ साल यताका राजनीतिक घटनाक्रममा बज्राचार्य प्रत्यक्ष रुपमा सामेल हुँदै आए । उनले ललितपुरको पाटनलाई केन्द्र बनाएर सामाजिक र राजनीतिक कर्म गर्दै आएका हुन् । २०४५ सालमा उनी तत्कालीन ललितपुर नगरपालिकाको नगर कमिटीको सदस्य बने । २०४६ को जनआन्दोलनमा नगर कमिटीको सल्लाहकार बने । त्यतिबेला कमिटीको प्रचारप्रसार विभाग सम्हालेका थिए उनले । नेपाल भ्रमण वर्ष १९९८ मा पनि उनी नगरपालिकाको सचिवालय सदस्य भएर काम गरे ।

२०४९ सालको स्थानीय तहको निर्वाचनमा वडा १८ को वडा सदस्य भए । त्यतिबेला उनी नेकपा (एमाले) र तत्कालीन माले पार्टीबाट राजनीतिक प्रतिनिधित्व जनाएका थिए । त्यसपछि २०५३ सालदेखि २०५६ सालसम्म उनी तत्कालीन ललितपुर नगरपालिकाका मेयर बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बने । त्यहाँ उनलाई काम गर्ने सहज वातावरण भएन । त्यसपछि उनले २०५६ सालमा उक्त स्वकीय सचिवको काम छाडिदिए । मेयरको सचिवालयको काम छाडेपछि बज्राचार्यको माओवादी सर्कलका नेतासँग संगत बढ्न थाल्यो । माओवादीका नेता कार्यकर्ताले उनलाई पार्टी प्रवेश गर्न आग्रह गरे । २०५६ सालमा उनी माओवादीमा प्रवेश गरे र २०५७ सालमा सदस्यता पनि लिए ।

२०५६ सालमा माओवादीमा प्रवेश गरेका उनी केही समय अर्ध भूमिगत जस्तै बने । २०६२÷०६३ को जनआन्दोलनपछि शान्ति प्रक्रिया शुरु भयो । माओवादी अध्यक्ष प्रचण्ड भूमिगत जीवनबाट सार्वजनिक आएपछि माओवादीको पहिलो बैठक पाटनस्थित उनको घर बुःवहालमा बसेको थियो । त्यतिबेला नेवा राष्ट्रिय मुक्ति मोर्चाको तीन दिने बैठक बसेको थियो । भूमिगत अवस्थाबाट बाहिर आएपछि बावुराम भट्टराईले उनको घरबाट पहिलोपटक अन्तर्वार्ता दिएका थिए । त्यतिबेला उनी पनि भट्टराईको साथमै थिए । सोही समय राम वहादुर थापा ‘बादल’ पनि एक महिना उनको घरमै बसेका थिए ।
बज्राचार्यले पाटन क्षेत्रका थ्रुपै संघ संस्थामा बसेर काम गरे । २०५६ सालमा उनी नेवा खल कमिटीमा बसेर काम गरेका थिए । तर त्यो कमिटीको काम कारबाही भने उनलाई त्यति याद छैन । बज्राचार्यले पार्टी र समाजको विभिन्न तहमा बसेर उनले भूमिका निभाउँदै आए । हाल उनी पार्टीको महानगर कमिटी अध्यक्ष रहेका छन् ।

माओवादीमा प्रवेश गरेपछि उनले नेवा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य र महानगर अध्यक्ष पनि भएर काम गरे । २०७० सालमा उनी माओवादी केन्द्रको महानगर कमिटीको अध्यक्ष नै भए ।
त्यसपछि पार्टी एकता र गठबन्धनपछि उनी जिल्ला कमिटीको सदस्य भए । २०७८ सालको कमिटीको निर्वाचनमा उनी पुनः निर्वाचित भएर नगर कमिटी अध्यक्ष बने । हाल उनकै सक्रियतामा महानगरको २९ वटै वडामा पार्टीको संगठन बलियो बनेको छ ।

उनले यो पटक धेरैको साथ र हौसलाले आफू उपमेयरको उम्मेदवार बनेको बताए । त्यसो त उनलाई राजनीतिक यात्रा गर्दा कही न कही पुगिन्छ भन्ने हेक्का पनि थियो । विभिन्न नेतृत्वमा उनले यसअघि पनि दाबी गरेका थिए । तर कयिपय ठाउँमा उनले त्याग पनि गरे ।

 

२०७४ सालमा भएको बागमती प्रदेश सभा चुनावमा पनि उनी प्रदेश सभा सदस्यमा आकांक्षी थिए । तर एमालेसँग गठबन्धन भएपछि ओलीले आफ्नो घर व्यवहारमा समस्या हुने भएको भन्दै बज्राचार्यलाई त्याग्न आग्रह गरे । एमालेका ज्ञानेन्द्र शाक्य निर्वाचित भए । त्यतिबेला पद त्यागेको भनेर केपी ओलीले उनलाई घरमै बोलाएर धन्यवाद दिएका थिए । यसपटक भित्री इन्छाले नै उपमेयरमा उम्मेदवार दिएको उनको भनाई छ । उम्मेदवार दिएर जित्न सक्छु भन्ने आत्मविश्वास पनि छ उनलाई ।

 

उनको बुझाइमा राजनीति र समाजसेवा दुइटा पाटो हो । यद्यपि उनले यी दुवैलाई सँगसँगै अघि बढाए । न त उनी समाजसेवामा कमजोर देखिए न त स्थानीय राजनीतिमा नै । ‘मलाई समाजमा राजनीतिक र समाजसेवी दुवै व्यक्तिका रुपमा चिन्छन्,’ उनी भन्छन्, ‘समाजमा काम गरेको व्यक्तिले त्यो समाजको नेतृत्व पनि गर्न पाउनुपर्छ भन्ने मान्यता मेरो हो ।’
ऊ बेला उमेर नपुग्दा वडाध्यक्ष बन्न पाएनन्

२०४९ सालको स्थानीय तहमा एमालेबाट वडाध्यक्षको टिकट उनलाई भाग लागेको थियो । तर त्यतिबेला उनलाई आफ्नै उमेरले ठग्यो । उमेर २४ वर्ष मात्रै पुगेकोले उनले आएको अवसर पनि गुमाउनु प¥यो । वडाध्यक्ष बन्नको निम्ति त्यतिबेला २५ वर्षको पुग्नु पर्दथ्यो । त्यसबेला उनले वडाको टिकट ज्ञानेन्द्र शाक्यलाई दिए । त्यस्तै २०५४ सालमा पनि उनले तत्कालीन ललितपुर नगरपालिकाको १८ नम्बर वडामा वडाध्यक्ष दाबी गरे । उनी र ज्ञानेन्द्रमध्ये को उम्मेदवार बन्ने भन्नेबारे रस्साकस्सी नै चल्यो । अन्ततः तत्कालीन संगठन विभाग प्रमुख केपी ओलीले शाक्यलाई नै टिकट दिए । त्यतिबेला बज्राचार्यलाई तत्कालीन नगर प्रमुख बुद्धिराज बज्राचार्यको स्वकीय सचिव बनाउने सहमति भएको थियो ।

माओवादीप्रतिको डर
२०६२/०६३ को जनआन्दोलनपछि समाजमा माओवादीप्रति त्रास बढेको थियो । मानिसहरु माओवादी भन्ने बित्तिकै डराउँथे । गलत रुपमा हेर्थे । त्यतिबेला स्थानीयलाई माओवादीको बारेमा बुझाउँदै र समाजसेवा गर्दै बज्राचार्य अघि बढिरहे । द्वन्द्वकालअघि एउटा नमिठो घटना भएको थियो । २०५८ मा तत्कालीन राज्यले उनका साथी निश्चल नकर्मी, सुविन्द्र श्रेष्ठ र राजेन्द्र माली धरपकडमा परी बेपत्ता बनायो । हालसम्म पनि तीन जना बेपत्ता नै छन् ।

व्यवसाय नै चौपट भयो
राजनीतिमा लागेपछि उनले परिवारलाई समय त दिन पाएनन् नै भएको व्यवसाय समेत सुक्यो । उनी हस्तकलाको व्यवसाय गर्थे । राजनीतिमा लागेपछि उक्त व्यवसाय पनि चौपट बन्यो । राजनीति र सामाजिक काममा व्यस्त हुन थालेपछि उनले व्यवसाय छाडेका थिए । त्यसकारण पनि यसअघि उनलाई वडाध्यक्ष र सांसद बन्नेसम्मका अवसर आए ।
उनले राजनीतिलाई कहिल्यै पनि स्वार्थको टेको बनाएनन्, आफ्नो पालो कुरेर बसे, समाजमा निरन्तर सेवा गर्दै । ललितपुरमै जन्मेर त्यहाँको समाजसँग यात्रा गर्दै अघि बढेका उनी यसपटक आफ्नो बाल्यकालदेखिको नगर बनाउने सपना पूरा गर्ने ठाउँको नेतृत्व लिन खोज्दैछन् ।

सिद्धिलालका फ्यान हुँदा
२०३६ सालको कुरा हो । उनी भर्खर १२ वर्षका थिए । उमेर सानै भए पनि उनले त्यतिबेला सिद्धिलाल सिंहलाई बुझ्न र जान्न भ्याइसकेका थिए । उनी सिद्धिलालका फ्यान बनिसकेका थिए । उनी सिद्धिलालको भाषण वा कार्यक्रम छ भन्ने सुन्नेबित्तिकै हेर्नलाई पाटनतिर पुग्थे । २०३६ सालको कुरा हो, ‘सिद्धिलाल अब बाहिर आउने’ भनेर हल्ला चल्यो । उनले सम्बोधन गर्ने भन्ने सुनेपछि उनी पाटनको भिमसेन मन्दिर पुगेको थिए, तर त्यतिबेला उनले नराम्ररी लाठी खानुप¥यो । केटाकेटी उमेरमा लाठी खाएपछि उनलाई झन् राजनीतिमा लाग्ने जोस जाग्यो । त्यसपछि झन् उनी राजनीतिक कार्यक्रममा हिड्न थाले । एकदिन गाःवहालको पानी ट्यांकीमा तुलसीलाल र सिद्धिलालले भाषण दिए । उनीहरु दुई मिनेट आएर भाषण दिएर गायब भइहाले । त्यतिबेला बज्राचार्य भाषण सुन्न त्यहाँ पुगेका थिए । ‘मेरो राजनीतिक इच्छा यी दुई व्यक्तिलाई देखेर आएको हो,’ उनी सुनाउँछन्, ‘यी दुवैको भाषण सुन्दा अब राजनीति गर्नुपर्छ भन्ने लागेको थियो ।’
२०४५ सालमा उनी २१ वर्षे ठिटो थिए । त्यतिबेला पाटनमा उम्मेदवारको परिचयात्मक कार्यक्रम थियो । त्यतिबेला उक्त कार्यक्रम सञ्चालन गर्ने जिम्मेवारी उनलाई दिइएको थियो । त्यतिबेला तिखो स्वर र धारावाहिक प्रस्तुतिमा भाषण ठोकेर निकै प्रशंसा कमाएका थिए उनले । ‘त्यो बेलादेखि मेरो राजनीतिक यात्रा निरन्तर अघि बढ्यो,’ उनी भन्छन्, ‘टोल, छिमेक र सामाजिक काममा सधैं सहभागी हुन्थें, टोलमा कसैलाई केही परेको छ भने मलाई दुख्थ्यो र दुःख्छ ।’

समाजसेवाको यात्रा
उनले २०४० सालदेखि समाजसेवाको यात्रा सुरु गरे । उनी बौद्ध बिहार संघमा ६ वर्ष काम गरे (२०६४ देखि २०७० सम्म) । त्यस्तै अक्षश्वर महाविहारमा पनि ६ वर्ष काम गरे । हाल यशोधर महाविहार टोलमा १७ वर्षदेखि निरन्तर रुपमा उनले नेतृत्व गर्दै आइरहेका छन् । उनी बुद्ध जयन्ती टस कमिटीको सदस्य र नेको जात्रा मतयाको सल्लाहकार हुन् । हाल उनी बौद्ध विहार र अक्षश्वर विहारको संरक्षकको रुपमा रहेका छन् । ब्रजाचार्य यशोधर बचत तथा ऋण सहकारी संस्था अध्यक्ष, जिल्ला बचत तथा सहकारी संघको सल्लाहकार र नेवा सांस्कृतिक केन्द्रको उपाध्यक्ष रहेका छन् ।
संस्कृति संरक्षणमा अग्रणी भूमिका
बज्राचार्यलाई नेवारी संस्कृति र सम्पदाको राम्रो ज्ञान छ । पाटन क्षेत्रका सांस्कृतिक पर्वहरु सञ्चालन र संरक्षणमा उनको भूमिका महत्वपूर्ण रहँदै आएको छ । उनकै सक्रियतामा पाटन क्षेत्रका १३ वटा बिहार निर्माणाधीन अवस्थामा रहेका छन् । त्यसमध्ये केहीको काम सकिएको छ । उनले १४ करोड बजेट माग गरेर सम्पदा क्षेत्रमा खर्च गरेका थिए । महानगरको सर्वदलीय संयन्त्रको बैठकमा उनले सम्पदा संरक्षणका लागि प्रत्येक वर्ष एक करोड सम्पदा संरक्षण रकम माग गरेका थिए । त्यसपछि बाजागाजा, विहार, कठमन्दिर र पर्वहरु संरक्षणमा झन् सहज भयो । ‘सांस्कृतिक प्रशिक्षणको लागि रकम पनि हामीले तोकेका छौं,’ उनले भने, ‘नीतिगत रुपमा नै पर्यटक आउँदा उठेको रकम सम्पदा पूर्वाधार निर्माणमा खर्च गर्ने भनेर यसअघि निर्णय पनि गरेका थियौं ।’

कमेन्ट गर्नुहोस्