गठबन्धनबाट हतुवागढीको अध्यक्षमा गजेन्द्र कार्की, उपाध्यक्षमा सुनिता किराती

घोडेटार । भोजपुरको हतुवागढी गाउँपालिकाको अध्यक्षमा कांग्रेसबाट गजेन्द्र कार्कीले र उपाध्यक्षमा माओवादी केन्द्रकी नेतृ सुनिता किरातीले उम्मेदवारी दिएका छन् ।

हतुवागढीमा गठबन्धनको तर्फबाट अध्यक्ष कांग्रेसले र उपाध्यक्ष माओवादीले पाएको छ । गठबन्धनको तर्फबाट साझा उम्मेदवार बनेका गजेन्द्र कार्की नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत हुन् ।

त्यस्तै गठबन्धनको निर्णय अनुसार उपाध्यक्ष पाएको माओवादी केन्द्रले सुनिता किरातीलाई टिकट दिएको हो ।उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा सक्रिय युवा नेतृ हुन् । उपाध्यक्षकी उम्मेदवार सुनिता किरातीले नमुना पालिका बनाएर शिक्षा स्वास्थ्य रोजगारी र पालिकाको समृद्धिको निम्ति काम गर्ने बताइन् । उनले जनताले भिजन र मिसन भएको नेतृत्वलाई जिताउने भन्दै जितको सुनिश्चिता भएको समेत बताइन् ।

गठबन्धनका दुवै उम्मेदवारले मनोनयन दर्ता गराइ सकिएको नेपाली कांग्रेस हतुवागढी–८ का सभापति प्रेम थापाले जानकारी दिए ।

त्यसैगरी हतुवागढी गाउँपालिकामा नेकपा एमालेले भने प्रेम कुमार राईलाई पुनः अध्यक्षमा दोहोर्याउने भएको छ ।

गत निर्वाचनमा निर्वाचित पालिका अध्यक्ष समेत रहेका राईलाई पुन उम्मेदवारको लागि सिफारिस गरेको हो ।

एमालेले उपाध्यक्ष पदमा कमला राईलाई सिफारिस गरेको छ ।

कमेन्ट गर्नुहोस्