विप्लवले निकाले पद मुक्तको विज्ञप्ती, पार्टीको बहुमतले प्रवक्ता महासचिव हटाउने बास्तोला र ओलीको चेतावनी

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले पार्टी सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन)लाई पदमुक्त गरेका छन् । उनले फुटपरस्त गतिविधि गरेको आरोप लगाएर उनीहरुलाई पदमुक्त गरेको घोषणा गरेका हुन्।

विप्लवले जारी गरेको विज्ञप्तिमा दुवै जनालाई अनिश्चितकालसम्मका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ । ‘सुदर्शन र कञ्चनका गल्तीहरुको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवम् भेलासमेत गर्दै हिंडेकाले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ,’ विप्लवले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

साथै यो कारबाही बाध्यता भएको पनि विप्लवले उल्लेख गरेका छन् । विप्लवले भनेका छन्, ‘हामी पार्टीमा यस्तो नहोस् भन्ने चाहन्थ्यौं तर विभिन्न तत्वहरुको उक्साहट मुख्यतः सुदर्शन र कञ्चनकै अराजकतावादी, अवसरवादी, विचलनवादी गतिविधिका कारण यो निर्णय लिनुपर्ने अवस्था सृजना भएको छ ।’

हालै ओलीले एक टेलिभिजन अन्तरवार्तामा विप्लवले विभिन्न संस्थामा लगानी गरेको र विलासी जीवनशैली अपनाएको आरोप लगाएका थिए । साथै बास्तोलाले स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने चेतावनीयुक्त वक्तव्य निकालेका थिए ।

उता पद मुक्त भएका भनिएका नेताहरुले भने पार्टीको केन्द्रिय कमिटीको बहुमतले गरेको निर्णय विपरित महासचिव र प्रवत्ता हिडेको र वर्ग च्युत भएको आरोप लगाएका छन् । उनीहरुले पार्टीको निति र विधि विपरित हिड्ने महासचिव र प्रवत्तालाई कारबाही गरी पार्टी आफ्नो गतिमा अघि बढ्ने बताएका छन् ।

 

हेर्नुहोस् विप्लवले जारी गरेको विज्ञप्ति–

कमेन्ट गर्नुहोस्