प्रचण्डले निवासमै बोलाएर भेटे मध्यपुर थिमिका गठबन्धनका उम्मेदवारहरुलाई

काठमाडौं, १५ बैशाख । पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिनुभएको छ। पाँच दलीय गठबन्धनका सूत्रधार रहनुभएका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिनुभएको हो।

अध्यक्ष प्रचण्डले बोलाएपछि बिहीबार बिहान गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुग्नुभएको थियो। उम्मेदवारहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र डिपी ढकाल प्रचण्ड निवास लिनुभएको थियो। अध्यक्ष प्रचण्डले बोलाएर निर्देशन दिएपछि मध्यपुरमा गठबन्धनका मेयर र उपमेयर र अन्य उम्मेदवारहरु उत्साहित भएका छन्।

उक्त अवसरमा अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा देशीविदेशी शक्तिहरु लागिरहेकाले उनीहरुको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता डिपी ढकालले बताउनु भयो।

राजधानीसँगै जोडिएको भक्तपुरको मध्यपुर थिमिका जनता सचेत समाजका प्रतिनिधि पात्र भएका भन्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेका जानकारी गराउँदै उहाँले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरुलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दावी गर्नुभयो। व्यवस्था परिवर्तनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन व्यवस्था रक्षाको लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताउनु भयो।

अध्यक्ष प्रचण्डले मध्यपुर थिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रचण्डले बताउनु भयो।

अध्यक्ष प्रचण्डले निवासमै बोलाएर आवश्यक निर्देशन र सल्लाह दिएपछि आफूहरुलाई थप उर्जा प्राप्त भएको उनीहरुको भनाइ छ । ‘अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकोले उत्साहित भएर आएका छौं।’ उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठले बताउनु भयो।

मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुनुहुन्छ भने उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष हुनुहुन्छ। अघिल्लो निर्वाचनको अंकगणित हेर्दा मध्यपुर थिमिमा गठबन्धनका उम्मेदवारहरु बलिया रहेका छन् भने सामाजिक व्यक्तित्वको आधारमा समेत उनीहरु बलिया दावेदार हुन्।

कमेन्ट गर्नुहोस्