कार्कीको उपमेयर उम्मेदवारी खारेज गर्न माग गर्दै घेराउ र प्रदर्शन

विराटनगर । विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेबाट उम्मेदवारी दिएकी शिल्पा निरला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै गठबन्धनका कार्यकर्ताले मुख्यनिर्वाचन अधिकृतको कार्यालय घेराउ गरेका छन् ।

उपमेयरका विरुद्ध परेको उजुरी खारेज गर्दै बिहीबार कार्यालयले उनको उम्मेदवारी सदर गरेको थियो । सदरको विरोधमा गठबन्धनका कार्यकर्ताले प्रदर्शन गरेका हुन ।

कोशी अस्पताल विराटनगरको सञ्चालक समिति सदस्यबाट राजीनामा नगरी उम्मेदवारी दिएको भन्दै उनको उम्मेदवारी खारेजको माग राखी निवेदन परेको हो ।

उजुरीपछि उनले हतपत राजीनामा बुझाएकी थिइन् ।

कानुन अनुसार कुनै पनि सरकारी निकायबाट तलब भत्ता खानेले राजीनामा नदिई उम्मेदवार बन्न नपाउने अधिवक्ता डिल्ली दाहालले बताएका छन् । उनले उपमेयर उम्मेदवार शिल्पा कार्किले कोशी अस्पतालबाट कुनै तलब, भत्ता वा कुनै खालको सुविधा लिएको भौचर, माइन्युट वा रिसिभजस्ता प्रमाण निर्वाचन आयोगमा पुग्यो भने उम्मेदवारी खारेज हुने बताएका थिए ।

कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर यज्ञराज खरेलले निवेदक जनता समाजवादी पार्टीलाई जानकारी दिँदै कार्कीले अस्पताल विकास समिति गठन आदेश अनुसार कार्कीले बैठक भत्ता लिने गरेको उल्लेख गरेका थिए।

‘प्रस्तुत विषयमा यस अस्पतालमा मिति २०७९/०१/१३ गतेको निवेदन माग बमोजिम कोशी अस्पताल विकास समितिको सदस्यमा कार्यरत शिल्पा निराला कार्कीले अस्पताल विकास समिति गठन आदेश २०७६ बमोजिम निजले बैठक बसेको समयमा बैठक भत्ता र कार्यालयको कामको सिलसिलामा अन्यत्र जानुपरेमा दैनिक भ्रमण भत्ता लिने व्यवस्था रहेको र यस अस्पतालबाट सोही बमोजिमको सुविधा लिएको ब्यहोरा जानकारीको अनुरोध छ,’ जानकारी दिएको पत्रमा अस्पतालले  उल्लेख गरेको थियो ।

निर्वाचन आयोगले भने मनोनयन दर्ता गर्नुअघि नै राजीनामा गरेको मनोनयन जाँच गर्ने अन्तिम समय १५ गते (बिहीबार ५ बजेसम्म) राजीनामा स्वीकृत भइसकेको देखिएको भन्दै मनोनयन सदर गर्ने निर्णय गरेको थियो ।

खारेज हुनुपर्ने उम्मेदवारी सदर भएको भन्दै गठबन्धन दलले विरोध जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्