एमाले राजपुर सचिव यादव र काँग्रेस क्षेत्रीय सदस्य भण्डारी माओवादी प्रवेश

दाङ । नेकपा एमाले राजपुर गाउँपालिका सचिव मंशाराम यादव र नेपाली काँग्रेस दाङका क्षेत्रीय सदस्य मीना भण्डारी र साहेबदिन यादव नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन्।

एमाले र काँग्रेसबाट माओवादी प्रवेश गरेका नेताहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री इन्द्रजीत थारुले स्वागत गरेका हुन् ।

चुनावी माहोल शुरु भएसँगै राजपुरमा एमाले काँग्रेसबाट माओवादी प्रवेश गर्नेको लहर नै चलेको छ। भारतको सीमा क्षेत्रसँग जोडिएको दाङदेउखुरीको राजपुर माओवादीको राम्रो पकड भएको गाउँपालिका हो।

माओवादीबाट राजपुर गाउँपालिका अध्यक्षको उम्मेदवार चक्रबहादुर खड्का ‘शिखर’ र उपाध्यक्षमा पुष्पा यादव चुनावी मैदानमा होमिएका छन् । जनतामा राम्रो छवि बनाएका खड्का र यादवले उम्मेदवारी दिएपछि एमाले काँग्रेसबाट आउने नेता कार्यकर्ताको लहर नै चलेको माओवादी राजपुरका प्रवक्ता भीम वलीले बताए । ‘हामीले चुनावी माहोल राम्रो बनाएका छौं। चुनाव जितिसक्यौं’ वलीले भने, ‘अब मतदान भए पनि घोषणा हुन मात्रै बाँकी छ।’ एमाले काँग्रेसबाट पुराना स्थापित नेता माओवादी प्रवेश गरेकाले माओवादीको पक्षमा माहोल झन् बढेको वलीले बताए ।

 

कमेन्ट गर्नुहोस्