को हुन् कटारी नगरका उपमेयरका उम्मेदवार विनोद कटुवाल ?

अभिमन्यु लामिछाने

उदयपुर । नेपालको इतिहासमा सर्वाधिक ठूलो सशस्त्र संघर्ष भनेको जनयुद्ध नै हो । त्यही जनयुद्ध र परिवर्तनकारी आन्दोलनले रंगिएको उदयपुरको एक पालिकामा कटारी नगरपालिका पनि पर्दछ । कटारी क्षेत्रबाट जनयुद्ध र परिवर्तनकारी आन्दोलनमा सयौँले ज्यान आहुति दिएका छन् । जनयुद्धमा माता पिताको रगतले रंगिएको कटारी नगरपालिकाका जनताको अवस्था परिवर्तन गर्न उपमेयरको उम्मेदवार बन्नुभएको छ– विनोद कटुवाल उर्फ कमरेड दिवश ।

जनयुद्धमा माता पिता गुमाउनेको भीडमा एक पात्रको रुपमा दर्ज हुनुभएका कटुवाल इतिहासका साक्षी पनि हुनुहुन्छ । हाल कटारी नगरपालिका–२ गुराँस घर भएका कटुवाल जनयुद्धका महान सहिद कमरेड मोहन कटुवाल र गंगा कटुवालका कान्छा छोरा हुनुहुन्छ । कटुवालका एक दाइ र एक बहिनी हुनुहुन्छ । स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) को गठबन्धनबाट कटारी नगरपालिकामा उपमेयरको उम्मेदवार बन्नुभएका कटुवाल माओवादी केन्द्र उदयपुरका अध्यक्ष पनि हुनुहुन्छ ।

कटारी नगरपालिकामा मेयर तथा उपमेयरमा उम्मेदवार दिनेहरुमध्ये कटुवाललाई ‘हेवीवेट’ का उम्मेदवार भन्दा फरक पर्दैन् । कटुवाल भन्नुहुन्छ, ‘मेयरको आकांक्षी थिएँ, राष्ट्रिय राजनीतिको परिवेशले बनेको पाँच दलीय गठबन्धनका कारण उपमेयरमा सीमित भएको छु । तर, उपमेयर हुँदैमा, जनताको सेवा कम गर्न पाइन्छ भन्ने होइन्, मात्र उपमेयर जितेर जनताको सेवा गर्ने मौका खोजेको हुँ ।’

कटुवाल गठबन्धनको तर्फबाट कटारी नगरपालिकाको स्थानीय सरकारमा सहभागी हुँदै हिजो मातापिताले जुन कामको लागि रगत बगाउनु भएको थियो । त्यही काम पुरा गर्न खोजेको दाबी गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘जनयुद्धमा मातापिताले जुन बलिदान गर्नुभएको छ, त्यो अहिलेको ‘संघीय लोकतान्त्रिक गणतन्त्रको नेपालको लागि हो, काठमाडौंको सिंहदरबार गाउँमा ल्याउनको लागि हो । त्यो आएको छ, राज्यसत्ताको व्यवस्था परिवर्तन भएको छ, अब जनताको अवस्था परिवर्तन गर्नुपर्ने मुख्य अभिभारा छ, त्यो पूरा गर्नको लागि मैले गठबन्धनको तर्फबाट उमेयरमा उम्मेदवारी दिएको हुँ ।’

कटुवाल उपमेयरको उम्मेदवार भएपछि विभिन्न कोणबाट टीकाटिप्पणी पनि सुरु भएको छ । कटुवाल भन्नुहुन्छ, ‘जनयुद्ध र जनआन्दोलनको बलमा देश संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल बनेको छ । संविधान सभाबाट २०७२ सालमा संविधान जारी भएको हो । त्यही संविधानको आधारमा राज्य पुनर्संरचना भएर अहिले ७ सय ५३ वटा स्थानीय तह बनेका छन् । त्यही स्थानीय तहको दोस्रो कार्यकालको लागि जनप्रतिनिधि चुन्न स्थानीय तह निर्वाचन २०७९ हुँदै छ । संविधानमाथि र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रतिगामी तत्वहरुले षड्यन्त्र गर्न थालेपछि देशमा पाँच दलीय गठबन्धन बनेको छ । यो गठबन्धन प्रतिगामी तत्वहरुका विरुद्ध प्रतिकार गर्न बनेको हो, त्यही भएकाले कटारीमा पनि गठबन्धनको तर्फबाट हामी चुनावी मैदानमा होमिएका छौँ । प्राविधिकवश म उपमेयरको उम्मेदवार बनेको हुँ । यसमा जनताले बुझ्नुहुन्छ ।’

कटुवाललाई साथ दिनुहुने मेयरको उम्मेदवार हुनुहुन्छ– नेपाली कांग्रेस उदयपुरका जिल्ला सहसचिव राजेशचन्द्र श्रेष्ठ । सामाजिक न्याय र परिवर्तनकारी आन्दोलनबाट आउनुभएका श्रेष्ठ पनि कटारीबासीको लागि लोकप्रिय मानिनुहुन्छ । कटुवाल भन्नुहुन्छ, ‘विभिन्न कोणबाट प्रतिक्रियावादीहरुले टीकाटिप्पणी गरे पनि जित सत्यको हुन्छ, कटारी नगरपालिकामा हाम्रो आवश्यकता रहेको जनताले महशुस गरिरहनुभएको छ । कटारीमा जनताका जनजीविकासँग जोडिएका सवालहरुको सम्बोधन हामीले मात्र गर्न सक्छौँ । त्यही भएर चुनावी एजेन्डा पनि जनताका समस्यालाई अध्ययन गरेर बनाएका छौँ ।’

को हुन् विनोद कटुवाल

१० वर्षे माओवादी जनयुद्धमा बाआमा दुवै गुमाउनुभएका कटुवाल सहिदको सन्तान हुनुहुन्छ । बाआमाको बलिदानप्रति गर्व गर्दै कटुवाल भन्नुहुन्छ, ‘राज्य व्यवस्था परिवर्तन गरी लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्न बुवा आमाले सन्तानको भविष्य हेर्नु भएन । जनताको आजको अवस्थालाई परिकल्पना गर्दै तत्कालीन राज्यसत्तासँग लड्दा लड्नै जीवन बलिदान गर्नुभयो ।’

कटुवाल विगत सम्झदै भन्नुहुन्छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्र माग गर्दा तत्कालीन शाही राज्यसत्ताले म जस्ता, त्यसबेलाका धेरै बालबालिकाको बालअधिकार खोसेको थियो ।’ राज्यले बाल अधिकार खोसेपछि कटुवाल पनि राज्य व्यवस्था परिवर्तनको लागि सुरु भएको जनयुद्धको सिपाही हुन बाध्य हुनुभयो । कटुवाल भावुक हुँदै भन्नुहुन्छ, ‘जनयुद्धमा बाबुआमा गुमाएपछि तीन सन्तान पठनपाठन गर्ने उमेरमा टुहुरा बन्यौँ । बेसहारा भयौँ । अनि राज्यको ज्यादतिविरुद्ध बाल सिपाही भएर बन्दुक बोक्न बाध्य भएका थियौँ । अहिलेको व्यवस्था परिवर्तन भएको छ । त्यही व्यवस्थामा जनताको अवस्था परिर्वतन गर्नको लाग पार्टीको तर्फबाट आधिकारिक उपमेयरको उम्मेदवार बनेको छु ।’

माओवादी आन्दोलन अनेक समूहमा विभाजित छ । तर, कटुवाल माओवादी केन्द्रबाटै जनताको अवस्था परिवर्तन गर्ने पक्षमा अठोटका साथ उभिनुभएको छ । कटुवाल भन्नुहुन्छ, ‘बुबाको शहादतपछि गाउँमा बस्न सक्ने स्थिति थिएन । स–परिवार गाउँ छोड्यौं । प्रहरीले आमा गंगालाई पनि छोडेनन् । साना तीन जना नानीहरूलाई छोडेर भाग्नुको विकल्प भएन आमाको । दाइ सुरक्षित बन्न हिँडेछन् बुटवलतिर । बहिनी नाता पर्ने छिमेकीको सहारा लिन पुगिछिन् ।

कटुवाल भन्नुहुन्छ, ‘बुबासँग आउने नेताहरूले पार्टी लिन आउँछ भनेका थिए । त्यही सुनेर म पर गाउँमा गएर बाख्रा चराउने, कहिलेकाहीँ स्कुल जाने गर्न थालेँ । मलाई लिन पार्टीको कोही पनि आएनन् । बरु प्रहरी गाउँमा पस्ने थाले । मलाई मोहन कटुवालको छोरो भनेर चिनेको भए मात्रै पनि मार्ने थिए । गाउँमा त्रास फैलिरह्यो ।

चार महिनापछि पार्टीसँग सम्पर्क भयो । एमालेबाट वडा अध्यक्ष जितेका व्यक्तिले गराइदिए सम्पर्क । पार्टी सम्पर्कबाट दाइ, बहिनी खोज्ने काम गरेँ । दाइ बुटवल पुगेको खबर पाएँ । पार्टी सम्पर्कबाट बहिनीलाई भेटेँ । पार्टीले सिन्धुपाल्चोक लग्यो । तिथि मिति भनेर साध्य छैन ।

सिन्धुपाल्चोकले नेता बनायो

त्यो बेला सिन्धुपाल्चोकमा ध्रुव पराजुली इन्चार्ज हुनुहुन्थ्यो । हामीले दुःख पाएको देखेर पार्टीले सिन्धुपाल्चोक लिने योजना बनाएछ । हामीलाई पढाउन सिन्धुपाल्चोक लगियो । बहिनीलाई माथि मांखामा पढ्ने व्यवस्था गरिदियो पार्टीले । लामाको घरमा बसेर पढ्ने व्यवस्था भयो । मलाई सिन्धुपाल्चोकको कुविन्डेमा । जुन घर सिन्धुपाल्चोकभरि चर्चामा थियो । त्यो घर हालका प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा ‘कञ्चन’का दाजुभाइकै थियो । म बस्दाबस्दै त्यो परिवारमा ३ जनाको शहादत भयो । शान्ति प्रक्रियासम्म आइपुग्दा म बस्ने गाउँबाट मात्र १६ जना सहिद बन्नुभएको थियो ।

मलाई त्यो देखेर झन् आत्मबल मिल्थ्यो । म अखिल (क्रान्तिकारी) सेतीदेवी पञ्चकन्या मावि (हाल उच्च मावि), कुबिन्डे इकाई समितिमा आबद्ध भएँ । दिनहुँजसो प्रहरी आउन थाल्यो स्कुलमा । म झ्यालबाट बाहिरिन्थें । पढाइ अब्बल भएकाले अग्नि सापकोटाले पढाउनमा विशेष जोड दिनुभएको थियो । सापकोटा परिवारको सबै परिवार जनयुद्धमा होमिएको थियो । अनि म घरमा कसरी बस्ने? दाइहरूले नआइज् भन्दा पनि म जबर्जस्त हिँडे ।

कटुवाल भन्नुहुन्छ, ‘पूर्वमा भएका ठूला कारबाही सबैमा संलग्न हुँदै आएँ । धेरै मोर्चामा लडेँ । अहिले अरू केही नभए पनि जनयुद्धकर्मी बनेको छु । नेपाली राजनीतिको इतिहास बनेको छु । त्यही भएकाले मेरो परिवार र मेरो भविष्य राजनीतिमै खोज्नुपर्ने छ । खोजिरहेको छु । धैर्यताका साथ बस्दै आउँदा राजनीतिक परिवेशले कटारी नगरपालिकाको पार्टीको तर्फबाट उपमेयरको उम्मेदवार बनेको छु । एक दिन राजनीतिले नै उज्यालो भविष्य पाउँछु होला । मलाई सिन्धुपाल्चोकले नै नेता बनाएको हो । बाआमाबाट नपाएको माया सापकोटा परिवारमा पाएको छु । अब कटारीबासीको माया पाउँछु भन्ने आशा गरेको छु । प्रतिगामी षड्यन्त्रविरुद्ध मेरो गठबन्धनबाट उपमेयरको उम्मेदवारी हो ।

कटुवालको राजनीतिक यात्रा

मेरो बुवालाई प्रहरीले २०५५ कात्तिक १२ गते चिम्टाघारीमा हत्या गरेको थियो । म त्यतिखेर ११ वर्षको थिएँ । बुवाको मृत्युपछि आमा डिप्रेसनको बिरामी हुनुभयो । आमालाई तत्कालीन शाही सेनाले २०५९ चैत ८ गते घरबाटै पक्राउ ग¥यो । त्यसपछि बेपत्ता पारियो । १३÷१४ वर्षको उमेर जनयुद्धको सिपाही बनेको हुँ । अहिलेसम्म निरन्तर रूपमा मूल आधारकै पार्टी पछ्याउँदै आएको छु । दुश्मनसँग भाग्ने छल्ने चेतना भएदेखि जनयुद्धबाटै बुवाको राजनीतिक यात्रा लागेको छु । कयौंपटक मृत्युको मुखबाट बाँच्दै आएको छु । पार्टीले दिएका जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्दै आएको छु ।

०६४ सालमा भएको पहिलो संविधान सभाको निर्वाचनमा सहिद परिवारको कोटाबाट संविधान सभा सदस्यको लागि पार्टीले नाम मागेको थियो । तर, उमेर पुगेन । त्यसपछि ०७० सालमा दोस्रो संविधान सभाको निर्वाचन भयो । मैले तत्कालीन निर्वाचन क्षेत्र उदयपुर ३ बाट दाबी गरेँ । तर टिकट पाइनँ । पार्टी केन्द्रले तयारी हुनुहोस् भन्यो । म तयार भएँ । तर पाइएन । त्यसपछि म पार्टीकै काममा निरन्तर लागें । ०७४ सालमा स्थानीय तहसँगै प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो । स्थानीय तहको निर्वाचनमा उदयपुर पार्टीको जिल्ला संयोजक थिएँ । कटारी नगरपालिकामै मेयरको चुनाव लड्न शुभचिन्तकले आग्रह गरेका थिए । म त्यतिबेला जिल्ला संयोजक भएकाले पार्टीका उम्मेदवारहरुलाई जिताउन लागें । जनयुद्धपछि विभिन्न कारणले माओवादी कमजोर भएको उदयपुरमा धेरै वडा र लिम्चुङबुङ गाउँपालिकामा अध्यक्ष जित्यो । मैले र पार्टीले त्यसैलाई जित मानेका थियौँ ।

त्यतिवेला सबैले स्थानीय निर्वाचनमा उदयपुरमा निल हुन्छ भन्थे । तर, मेरो कार्यक्षेत्र भएको ठाउँमा जित हात पारेको थिएँ । कटुवाल भन्नुहुन्छ, ‘त्यो जनयुद्धको आधार इलाका पनि थियो । ०७४ मंसिरमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन भयो । वाम गठबन्धन बनेको थियो । उदयपुरमा प्रतिनिधि सभा २ क्षेत्र र चार प्रादेशिक निर्वाचन क्षेत्र बन्यो । मैले माओवादी केन्द्रको भागमा परेको प्रदेशबाट टिकट दाबी गरेको थिएँ । पार्टी हेडक्वाटरदेखि जिल्ला अगुवा नेता तथा कार्यकर्ता चुनाव लड्ने खबरले हौसिएका थिए । तर, त्यसबेला पनि प्राविधिक कारण मैले टिकट पाइँन । मेरा शुभचिन्तकले प्रतिनिधि सभा २ मा बागी उम्मेदवारी दिन अनुरोध गरें । मैले मेरो समर्थक कार्यकर्ता, नेता तथा शुभचिन्तकको लागि पनि बागी उम्मेदवारी दर्ता गरें ।

त्यो माओवादी केन्द्रको भागमा परेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र थियो । त्यसपछि धेरै छलफल भयो । मसहित माओवादीको भागमा परेका क्षेत्रमा चार जनाले बागी उम्मेदवारी दर्ता गर्नुभएको थियो । पछि पार्टी हेडक्वार्टरसँग छलफल गरेर मैले बागी फिर्ता लिएँ । साथीहरूले पनि लिनु भन्नुभयो । पार्टी र पार्टीका नेता कार्यकर्ताको निर्देशन अनुरोध पालना गर्नै एक कार्यकर्ता र नेता पनि हुँ । पार्टीको निर्णय विपरित जाने बानी छैन । यसपटक कटारीमा पार्टीकै तर्फबाट उपमेयरको उम्मेदवार बनेको छु ।

मेरा बुवाआमाले बगाएको रगतले निर्माण भएको पार्टी र जनयुद्धको बलमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, समावेशी, समानुपातिक व्यवस्था प्राणभन्दा प्यारो भएको कटुवालको भनाइ छ । कटुवाल भन्नुहुन्छ, ‘यही व्यवस्थामाथि प्रतिगामीहरुले पड्यन्त्र गर्न खोजेपछि अहिले पाँच दलीय गठबन्धन बनेको छ । त्यही गठबन्धनलाई विजयी गराउनको लागि पनि मेरो उपमेयरमा उम्मेदवारी छ ।’

यस्ता छन् कटुवालका योजनाहरु

हामी पानीजहाज ल्याउँछौँ, मेट्रो रेल कुदाउँछौँ भन्दैनौँ । कटारीका जनताको दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ ? ती योजना हाम्रा प्रतिवद्धता हुन् । स्वास्थ्य, शिक्षा, आवास, सडक, विद्युत, खानेपानीमा लगायतमा सहज बनाउँदै लाने योजना हुनेछन् ।

नेपालको संविधानले स्थानीय तहलाई नै अधिकार सम्पन्न बनाउन जोड दिएको छ । संविधानको अनुसूची ८ मा २२ वटा विषयगत क्षेत्राधिकार तोकेको छ । ती क्षेत्राधिकारको प्रयोग र उपभोगको लागि स्थानीय तह स्वयम्ले नै नियम, कानुनहरु बनाउन सक्ने व्यवस्थापकीय अधिकार प्रदान गरेको छ । शान्ति, सुरक्षा लगायत दैनिक प्रशासन सञ्चालनको लागि कार्यकारीको अधिकार पनि स्थानीय तहलाई नै प्रदान गरिएको छ ।

त्यस्तैगरी न्यायिक निरुपणका लागि न्यायपालिकाको पनि व्यवस्था गरिएको छ । यसबाट स्थानीय तह एकात्मक राज्यप्रणाली अन्तर्गतको निकाय नभई अबको स्थानीय तह सरकारकै रूपमा स्थापित हुने भएको छ । यसरी आधुनिक नेपालको इतिहासमा नै पहिलोपटक स्थानीय सरकार गठनको ऐतिहासिक अभियान चलिरहेको छ । यसबाट विगतकालको एकात्मक प्रणालीले सिंहदरबारमा केन्द्रित गरिएको जनताको अधिकारलाई जनताकै घरदैलोमा पु¥याउने र स्थानीय जनतालाई नै अधिकार सम्पन्न गराई स्थानीय जनप्रतिनिधिहरुद्वारा नै सुशासन सञ्चालन गर्नुका साथै स्थानीय जनताद्वारा नै आफ्नो गाउँ र नगरको विकास आफैले गर्ने प्रणालीको शुरुवात भएको छ । यी सबै उपलब्धिहरु मुख्यतः दश वर्षको जनयुद्धको उपज हो ।

हामीले स्थानीय तहमा जितेपछि सबै अंगहरुको बीचमा समन्वयात्मक रुपले सञ्चालन गरिने छ । दैनिक प्रशासनलाई जनसेवामुखी, प्रभावकारी, छिटो छरितो, सरल, सर्वसुलभ, पारदर्शी र उत्तरदायी बनाइने छ । सार्वजनिक प्रशासनलाई भ्रष्टाचारमुक्त बनाइने छ । योजनाहरु कार्यान्वयन भएको, नभएको अनुगमन र निरीक्षण प्रणालीलाई प्रभावकारी बनाइने छ ।

प्रशासनिक जनशक्तिको व्यवस्थापन गर्दा अनुभव, क्षमता र योग्यताअनुरुप उपयुक्त पात्रलाई उपयुक्त स्थानमा राख्ने मान्यतालाई अवलम्वन गरिने छ । स्थानीय तहहरुको संचालन र व्यवस्थापन गर्दा संघ, प्रदेश र अन्य समकक्षी स्थानीय तहहरुबीच समन्वयात्मक सम्बन्धको विकास गरिने छ ।

नेपालको संविधानको अनुसूचि ८ मा उल्लेखित स्थानीय तहले प्रयोग गर्ने २२ वटा विषयगत अधिकारहरुको सूचि अनुसार भूमि सुधार, कृषि, सिंचाई, जलस्रोत, वन, खनिज पदार्थ, उद्योग, व्यापार, कर संकलन, वजेट तर्जुमा, यातायात, सूचना–संचार, नगर तथा वस्ती विकास, खानेपानी, दैनिक प्रशासन, न्याय सेवा, शान्ति सुरक्षा, स्वास्थ्य, शिक्षा, भाषा–संस्कृति, खेलकूदलगायतका क्षेत्रहरुको क्षेत्राधिकार तोकिएको छ । ती सबै क्षेत्रलाई प्रभावकारी ढंगले संचालन र परिचालन गरी स्थानीय जनताको दैनिक सेवा र कृषि तथा औद्योगिक आत्मनिर्भर अर्थतन्त्रको स्थापनामा जोड दिइने छ ।

वैज्ञानिक भूमि व्यवस्थापन र भू–उपयोगको नीति तर्जुमा गरिने छ । त्यसैको आधारमा शहरी र ग्रामीण क्षेत्रको विकासको लागि बृहत्तर गुरुयोजना तर्जुमा गरिने छ । भूमिमाथि जोताहा किसानहरुको स्वामित्वलाई सुनिश्चित गरिनेछ । जमिनलाई अव्यवस्थित घरघडेरी लगायतका अनुत्पादक क्षेत्रमा प्रयोग गर्न, बाँझो राख्न र खण्डिकरण गर्नलाई नियन्त्रण गरी जमिनलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गरिनेछ । भूमिलाई उत्पादनमूलक क्षेत्रमा केन्द्रित गर्न भूमि बैंकको व्यवस्था गरिने छ ।

ग्रामीण क्षेत्रमा मुख्यतः आय–आर्जन र रोजगारमूलक कृषि उत्पादन, खाद्यान्न उत्पादन, दलहन, फलफुल, तरकारी, नगदेवाली, पशुपालन लगायत मुख्यतः नगदे बालीको खेतीमा जोड दिइने छ । एक गाउँ एक कृषि नमूना उत्पादनमा जोड दिइने छ । गाउँपालिकाहरुले कृषि उत्पादनलाई गुणात्मक रूपमा विकास गर्नका लागि सुपरजोनको मान्यताअनुसार आ–आफ्नो भौगोलिक विशेषताअनुरुप उत्पादनको विशिष्टीकरण र नमूनामूलक ढङ्गले कृषि उत्पादनलाई केन्द्रित गरिने छ । कृषि उत्पादनलाई व्यवसायीकरण, आधुनिकीकरण र औद्योगिकीकरणमा जोड दिइने छ । सबै उर्वरायोग्य भूमिमा सिंचाईको व्यवस्था गर्नका लागि अभियानकै रुपमा सिंचाई कार्यक्रम संचालन गरिने छ । कृषिको लागि आवश्यक पर्ने मल, विऊ, कीटनाशक औषधिलगायतका औजारहरु सर्वसुलभ बनाइने छ ।

कृषि उत्पादनमा प्राङ्गारिक मलको प्रयोग गरी अर्गानिक उत्पादनमा जोड दिइने छ । कृषि बजारको व्यवस्थालाई व्यवस्थित गरी प्रत्येक गाउँमा कृषि उपजहरुको बजारको व्यवस्था गरिने छ । कृषि उपजको भण्डारण र शितभण्डारणको व्यवस्था गरिने छ । कृषि उत्पादनमा सहकारी प्रणालीलाई प्रोत्साहित गरिनेछ । किसान र उपभोक्ताबीचको विचौलियाहरुको तहगत संरचनालाई न्यूनीकरण गर्दै किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध र लाभको लागि बहुउद्देश्यीय सहकारी प्रणाली मार्फत् कृषि उत्पादन, उत्पादित वस्तुहरुको भण्डारण, ढुवानी र कृषि बजारको व्यवस्था गरिने छ ।

साना तथा गरीविका रेखामुनि रहेका किसानहरुको लागि सहुलियत व्याज दरमा कृषि ऋणको व्यवस्था गरिने छ । कृषि पेशालाई प्रोत्साहित गर्न किसान पेन्सनको व्यवस्था गरिनेछ । अव्यवस्थित तथा छरिएर रहेको ग्रामीण बस्तीहरुलाई एकीकृत सघन बसोबासको लागि सघन वस्ती विकास कार्यक्रम सञ्चालन गरिने छ । प्रत्येक ग्रामीण क्षेत्रहरुमा सफा खानेपानी, शौचालय, सरसफाई, फोहरमैला व्यवस्थापन, स्वास्थ्य सेवा केन्द्र, शिक्षालय, खेलमैदान, यातायात, इन्टरनेटको सेवालगायतका सूचना संचार केन्द्र आदि आधारभूत संरचनाहरुको विकासमा जोड दिइने छ । ग्रामीण सडक गुरुयोजनाको मापदण्ड बनाएर आर्थिक उत्पादनको गतिविधिसँग जोड्ने गरी ग्रामीण हरित सडक संजालको निर्माण र विस्तार गरिने छ ।

ग्रामीण क्षेत्रमा पर्यटन र वातावरणीय संरक्षणलाई ध्यानमा राखी पर्यटकीय पैदल मार्ग र केवल कारहरुको व्यवस्था गर्न जोड दिइने छ । गाउँहरुलाई स्मार्ट नमूना गाउँको रुपमा विकास र विस्तार गर्न जोड दिइने छ । ग्रामीण क्षेत्रमा कृषिजन्यसाना तथा घरेलु उद्योगहरुमा जोड दिइने छ । त्यसप्रकारका उद्योगहरुलाई सहुलियत व्याज दरमा ऋण दिने व्यवस्था गरिने छ ।

पूर्वाधार विकासका परियोजनाहरु सञ्चालन गर्दा स्वदेशी पुँजी, स्थानीय स्रोत साधन र श्रममुखी साना तथा सरकारले धान्न सक्ने मझौला प्रकृतिका योजनाहरुमा जोड दिइने छ । एक गाउँ एक नमुना उद्योग स्थापना गर्न जोड दिइने लगायतका योजना रहेका छन् ।

कमेन्ट गर्नुहोस्