आयल निगमको उपप्रवन्धकबाट राजीनामा दिएर गाँउपालिका अध्यक्षको उम्मेदवार बने राई

काठमाडौं । नेपाल आयल निगमको जागिर छोडेर गोपालचन्द्र राईले खोटाङको द्रिपुङ चुईचुम्मा गाउँपालिका अध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले ९ वर्ष काम गरेको निगमको जागिर छोडेर माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएका हुन् ।

 

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार हुनका लागि उनले घरायसी कारण देखाउँदै वैशाख ६ गतेबाट लागू हुनेगरी गत चैत ६ गते नै राजीनामा गरेका थिए । राई २०६९ चैत १ गते आयल निगमका सेवा प्रवेश गरी उपप्रवन्धक पदमा कार्यरत थिए ।

जय आयल भन्दै अधिकृत स्तरको सातौं तहबाट राजीनामा दिएर उनी खोटाङको द्रिपुङ चुईचुम्मा गाउँपालिकामा चुनावी गतिविधिमा अघि बढेका थिए । राईले खोटाङको दिक्तेल बहुमुखी क्याम्पसबाट स्नातक, राजबिराजबाट स्नातकोत्तर, एलएलबी र जनप्रशासन क्याम्पसबाट एमपिए गरेका छन् ।

उनले आफ्नो गाउँ बनाउन, गाउँको सपना साकार पार्नका लागि सेवाको भावले जागिर छोडेर गाउँ फर्किएको प्रतिक्रिया दिएका छन् । राई चर्चित गीतकार समेत हुन् ।

कमेन्ट गर्नुहोस्