उद्योग मन्त्री बडू र बंगलादेशका राजदूतबीच भेट, ऊर्जा, पर्यटन र व्यापारमा सहकार्य गर्न प्रस्ताव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्धीन नोमन चौधरीसँग भेटघाट गरेका छन् । छलफलमा राजदूतले दुई देशबीचको सम्बन्धलाई ऊर्जा विकास, व्यापार सहजीकरण तथा पर्यटन प्रवर्धनका क्षेत्रमा सहकार्यमार्फत थप सुदृढ गर्न सकिने बताए ।

यसैगरी उनले नेपाल बंगलादेशबीचको व्यापार सम्झौता छलफललाई अगाडि बढाउनुपर्ने आवश्यकता औँल्याउँदै नेपाली वस्तुहरूको बंगलादेश निर्यातमा सहजीकरण गर्न बंगलादेश सरकार तयार रहेको बताए । राजदूत चौधरीले गत वर्ष नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनका पक्षबारे चासो राख्दै ऊर्जा विकास, व्यापार, पर्यटनलगायतका क्षेत्रमा बंगलादेशले नेपालमा लगानी गर्न चाहेकोले त्यसका लागि लगानीमैत्री वातावरण र लगानी सुरक्षाको विषयमा नेतृत्वदायी भूमिका निर्वाह हुनेमा विश्वस्त रहेको बताए ।

भेटका क्रममा मन्त्री बडूले कोभिड—१९ महामारीमा बंगलादेशले स्वास्थ्य क्षेत्रमा गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरे । यस प्रकारको सहयोगले दुई देशका सरकारबीच मात्र नभई जनस्तरमा समेत सम्बन्ध प्रगाढ बनाउन सहयोग पुगेको मन्त्री बडूको भनाइ छ । यसैगरी, द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गरी दुवै देशले अधिकतम पारस्परिक लाभ उठाउन सक्ने विचार व्यक्त व्यक्त गरे ।

यसैगरी मन्त्रीज्यूले दुई देशबीच हुने सौविध्यपूर्ण व्यापार सम्झौताका लागि छलफल भइरहेको र यसबाट दुवै देशलाई फाइदा हुने गरी व्यापार प्रवर्द्धनमा उपयोग गर्नुपर्ने बताए । यससम्बन्धी बंगलादेश सरकारबाट प्राप्त प्रस्तावमा विभिन्न तहमा छलफल तथा विश्लेषणको काम भइरहेकोले चाँडै बंगलादेश पक्षलाई नेपालको राय पठाउने जानकारी गराउँदै मन्त्री बडूले नेपालमा ऊर्जा, पर्यटन र विकास पूर्वाधारका क्षेत्रमा हुने लगानीको संरक्षण र सहजीकरण गर्न नेपाल सरकार तयार रहेको समेत आश्वस्त पारे ।

कमेन्ट गर्नुहोस्