कञ्चनपुर बेलौरी २ मा पाँच सय भन्दाबढी माओवादीमा प्रवेश

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले बेलौरी नगरपालिका २ बाट मात्रै पाँचसय भन्दाबढी व्यक्तिलाई पार्टी प्रवेश गराएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै बेलौरीमा माओवादी प्रवेश गर्नेको लहर नै चलेपछि शुक्रबार र शनिबार गरी पाँच सय भन्दा बढीले पार्टी प्रवेश गरेका हुन् ।

विभिन्न पार्टीमा रहेका उनीहरूलाई माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बिना मगरले टीका लगाएर स्वागत गरेकी हुन् । माओवादी केन्द्र बेलौरी नगर कमिटी सचिव सुन्दर चौधरीले भने, “पछिल्लोपटक बेलौरीमा माओवादी प्रवेश गर्नेको चाप बढिरहेको छ । यतिबेला स्वागत गर्न पूर्वमन्त्री ज्यूलाई भ्याइनभ्याई छ ।” पार्टी प्रवेशको उत्साहसँगै उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा जुटिरहेका चौधरीको भनाई छ ।

बेलौरीमा गठबन्धन हुन नसकेपनि माओवादी केन्द्र एक्लै चुनाव जित्ने रणनीतिमा जुटेको हो । उनले भने, “बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा आफ्नो अमुल्य मतको सदुपयोग गर्न सम्पूर्ण मतदाताहरुलाई बेलौरी नगरकमिटीद्धारा अपिल गरिएको छ ।”

कमेन्ट गर्नुहोस्