प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं । सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।

नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार मध्यरातबाट अवकाशमा जाँदैछन् । उनी २०७७ असार २३ मा प्रहरी महानिरीक्षक नियुक्त भएका थिए । नेपाल प्रहरीको कमाण्ड समाल्न सिंहसँगै अरु ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी) प्रतिस्पर्धामा थिए । २०४९ चैत ११ मा इन्स्पेक्टरमा भर्ना भएका विश्वराज पोखरेल, सहकुलबहादुर थापा र रबिन्द्रबहादुर धानुकलाई पछि पार्दै सिंह आईजीपीमा नियुक्त भएका हुन् ।
आईजीपीका प्रतिस्पर्धीहरु एउटै मितिमा प्रहरीमा भर्ना भएपनि फरक समयमा एआईजीमा बढुवा भएका थिए । विश्वराज पोखरेललाई २०७७ मंसिर २५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले एआईजीमा बढुवा गरेको थियो । सहकुल थापा २०७८ असार २४ मा एआईजी भएका हुन् ।

२०७८ चैत १७ मा धिरजप्रताप सिंह र रबिन्द्रबहादुर धानुकलाई वर्तमान मन्त्रिपरिषद्ले एआईजीको दरबन्दी थपेर बढुवा गरेको थियो । एआईजीको बरियताअनुसार विश्वराज अरु प्रतिस्पर्धीभन्दा १६ महिना सिनियर थिए । सहकुलबहादुर थापा एआईजी भएको ९ महिना पुरा भएको छ । सिंह र धानुक एआईजीमा बढुवा भएको १ महिना पुरा भएको छ ।

आईजीपीमा नियुक्त सिंहले २०७९ वैशाख ३० को स्थानीय तहको निर्वाचन गराउने छन् । बरियताको तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहले तत्कालीन अपराध महाशाखा हाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड गरेका थिए ।

२०७५ साउन २१ मा ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्यामा संलग्न अजय तामाङ र गोपाल तामाङ प्रहरी इन्काउन्टरमा मारिएका थिए । त्यतिवेला धिरज सिंह महाशाखाको प्रमुख थिए । प्रहरी उपरीक्षक हुँदा सिंहले दाङ जिल्लाको कमाण्ड गरेका थिए । डीआईजी भएर सिंहले मधेश प्रदेश कार्यालय र केन्द्रीय अुनसन्धान व्यूरोको कमाण्ड गरेका छन् ।

कमेन्ट गर्नुहोस्