माओवादीद्वारा सिन्धुपाल्चोकमा मतदाता रक्षा दल (भी फोर्स) गठन

काठमाडौं । नेकपा माओवादी सिन्धुपाल्चोकले मतदातालाई प्रभावित हुने गतिविधि रोक्न भी फोर्सै गठन गरेको छ ।

निर्वाचनको समयमा मतदातालाई प्रभावित गर्ने, धम्क्याउने तथा दबाब दिने कार्य रोक्नका लागि यो फोर्स गठन गरिएको हो ।

जिल्लाका तीन नगर र नौ गाउँपालिकामा युवा जमातलाई भेला गरी यस्ता फोर्स बनाइएका हुन ।

जिल्ला अध्यक्ष गोविन्द पराजुलीका अनुसार जिल्लाभरी एक बुथ २५ युथको नीति अनुसार वडादेखि पालिकास्तरमा झन्डै चार हजारभन्दा बढीको संख्यामा फोर्स गठन गरिएको हो । फोर्सले वडादेखि गाउँपालिका, नगरभर परिचालन भएर मतदाताको सुरक्षा गर्ने, मतदातालाई सहजीकरण गर्ने स्वयंसेवकको काम गर्ने उनले उल्लेख गरे । यो नित्तान्त जिल्लाकै मौलिक ‘पोलिसी’ रहेको उनले बताए ।

युवा जमात वाईसीएल संगठनलाई सक्रिय बनाउन यो फोर्स बनाइएको उनको जिकिर छ ।

‘हामी कसैप्रति जाइलाग्दैनौं, आए बाँकी नराखिने भन्दै भी फोर्सले स्वच्छ र शान्तिपूर्ण निर्वाचनका पक्षमा काम गर्ने उनले बताए ।

निर्वाचनको समयमा माओवादी समर्थकमाथि आक्रमण हुन सक्ने, उनीहरुलाई बाटोमैं रोकिन सक्ने, गाउँटोलमा अवाञ्छित गतिविधि हुनसक्ने भएकोले यसविरुद्ध युवा परिचालन अनिवार्य रहेको उनको जिकिर छ ।

कमेन्ट गर्नुहोस्