आगलागीबाट ध्वस्त मुक्तकमैया बस्ती सरकारले बनाउने

कैलाली । यहि वैशाख ११ गते आगलागीबाट ध्वस्त भएको कैलालीको कैलारी गाउँपालिका–७ मा रहेको मुक्तकमैया शिविर सुदूरपश्चिम सरकारले निर्माण गरिदिने भएको छ ।

चालू आर्थिक वर्षमै विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) निर्माण गरी आर्थिक वर्ष २०७९–०८० देखि बस्ती निर्माण गरिने भएको हो । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शनिबार सो बस्तीको स्थलगत अनुगमन गर्दै यस्तो बताएका हुन्।

उनले प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत अग्नि पीडित मुक्तकमैया बस्ती निर्माण गरिने बताए । त्यस्तै, प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सो स्थानका मुक्तकमैयाले अझैसम्म पनि जग्गाको लालपूर्जा नपाएकाले लालपूर्जासहित घर निर्माण गरेर हस्तान्तरण गरिने बताए ।

प्रदेश सरकारले तत्काल पूर्ण रुपमा क्षति व्यहोरिरहेका सो बस्तीका मुक्तकमैयालाई ५० हजार रुपैयाँका दरले राहत दिने, त्यस्तै बर्खे खेतीको लागि धानको बिउ निशुल्क दिने प्रदेश सरकारले जनाएको छ । ७१ घरधुरी रहेको सो बस्तीमा वैशाख ११ गते दिउँसो खेतमा गहुँको नलमा लगाइएको आगो सल्किएपछि आगलागी भएको थियो ।

आगलागीबाट बस्तीका २७ घर पूर्णरुपमा जलेका थिए । सथै १२ घर आंशिक रुपमा र ३२ घरमा सामान्य क्षति भएको छ ।

कमेन्ट गर्नुहोस्