महालक्ष्मी नगरका मेयरका उम्मेदवार शिव कट्टेलका यस्ता छन् योजना

ज्ञानप्रसाद पौडेल
लामो समय ललितपुर महालक्ष्मी क्षेत्रको विकास र परिवर्तनको लागि प्रत्यक्ष÷अप्रत्यक्ष महत्वपूर्ण भूमिका निभाउँदै आएका शिव कट्टेल आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सोही नगरपालिकाका उम्मेदवार बनेका छन् । तीन दशकदेखि महालक्ष्मी क्षेत्रमा सामाजिक कार्यमा सरिक हुँदै आएका कट्टेल मेयरका प्रत्यासी बनेपछि लोभलाग्दा योजनासहित चुनावी प्रचार प्रसारमा लागेका हुन् ।

ग्वार्कोमा फ्लाइओभर निर्माणदेखि स्वास्थ्य, महिला र वृृद्धवृद्धा सम्बन्धी विशेष योजनासहितका प्रतिवद्धता बोकेर उनी घरदैलो कार्यक्रममा व्यस्त छन् । अन्य समयमा पनि स्थानीयको घरदैलोमा पुगिरहने उनी चुनाव लागेपछि त्यसलाई झन् तीव्रता दिएका छन् । ‘मैले राजनीतिलाई समाजसेवाको रुपमा लिएको छु, तीन दशकदेखि महालक्ष्मीको विकासको लागि कुनै न कुनै पक्षबाट भूमिका निर्वाह गरेको छु,’ उनले भने, ‘त्यसकारण पनि यहाँका स्थानीयवासीले मलाई भोट दिनुहुन्छ भन्ने विश्वास लिएको छु।’

उनीसँग लामो समय सामाजिक र स्थानीय स्तरका रहेर राजनीतिक नेतृत्व गरेको अनुभव छ । अनुभव, भूमिका र स्थानीयको मागअनुसार नै उनी महालक्ष्मीको मेयरको प्रत्यासी बनेका हुन्। ‘म महालक्ष्मीलाई व्यवस्थित पार्न चाहन्छु, यहाँको भित्री सहर, खानेपानी, सडक, संस्कृति, पर्यटन, रोजगार, शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने योजना लिएर उम्मेदवार बनेको छु,’ उनले भने, ‘विगतमा हुन नसकेका काम र नयाँ थप योजना अनुसारका काममा म पाँच वर्ष अहोरात्र खटिने छु।’

ग्वार्कोको जाम अन्त्य गर्नेछु
सहरीकरण र महालक्ष्मी क्षेत्रमा जनघनत्व बढिरहेको छ । रिङरोड बाहिर पर्ने यो क्षेत्रमा पछिल्लो एक दशकमा थुपै्र मानिस बसाइ सराइ गरेर आएका छन् । जसका कारण महालक्ष्मी क्षेत्रका सडकमा सवारी चाप बढेको छ । रिङरोड प्रवेशद्वार ग्वार्कोमा अत्यन्तै ट्राफिक जाम बढेको छ । महालक्ष्मी नगरपालिकाका मेयरका उम्मेदवार कट्टेलले आफू निर्वाचित भए पाँच वर्षमा ग्वार्कोमा फ्लाइओभर निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । यो योजनालाई प्राथमिकतामा राखेर काम गर्ने वाचासहित उनले महत्वपूर्ण योजनाबारे जानकारी गराएका हुन् । त्यसबारे सोचेर र प्रतिवद्धता व्यक्त गरेको उनको भनाई छ । ‘यो ठाउँको जामको निकास नै फ्लाइओभर हो, ग्वार्कोमा फ्लाई ओभर बनाउने यो म निर्वाचित भएपनि दु्रत गतिमा अघि बढाउने छु,’ उनले भने ।

याे पनि पढ्नुस  सञ्चारमाध्यामका लागि आचारसंहितामा यस्तो छ व्यवस्था

महिलाहरुलाई निःशुल्क सेनेटरी प्याड वितरण
उनी निर्वाचित भएपछि नगरपालिकाले नै महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने प्रतिवद्धता गरेका छन् । नगरपालिका आफैले कार्यालयबाट प्याड वितरण गर्र्नेछ । जसका कारण महिलाहरुलाई सहज हुनेछ । प्याड वितरणको लागि नगरपालिकाभित्र छुट्टै शाखा निर्माण गरिने छ । वडा तथा नगरपालिकाबाट प्याड उपलब्ध गराइने प्रबन्ध मिलाइने छ ।

अस्पताल निर्माण र दीर्घ रोगीलाई निःशुल्क औषधी वितरण
नगरपालिकामा छुट्टै अस्पताल निर्माण गरिनेछ । पालिकाका स्वास्थ्य चौकीबाट उपचार सम्भव नभएका र अन्य विरामीले यस अस्पतालमा उपचार सेवा लिन सक्नेछन् । पालिकाले निर्माण गर्ने अस्पतालमा सहुलियतमा उपचार सेवा लिन पाइने छ । त्यस्तै पालिकाभरिका दीर्घरोगीलाई निःशुल्क औषधी वितरण गरिने छ । सुगर, प्रेसर, दमलगायत रोगका औैषधी नगरपालिकाबाट वितरण हुनेछन् । त्यस्तै वृद्ध भत्ता पनि घर–घरमै पुगेर वितरण गर्ने प्रबन्ध मिलाउने लगायतका योजना पनि कट्टेलले आफ्नो प्रतिवद्धता पत्रमा समेटेका छन् ।

याे पनि पढ्नुस  निर्वाचन आयोगले कहीं नभएको नियम लगायो, निर्वाचनमा एमाले सिद्धिने छैनौं : पोखरेल

नक्सापासलाई व्यवस्थित र नियमित गर्ने
महालक्ष्मी नगरपालिकाको अर्को समस्या हो धेरैजसो घर तथा भवनको नक्सा पास नहुनु । नक्सा पासबिना नै बनेका र करको दायरामा नआएकालाई छुटसहित नक्सा पास र करको दायरामा ल्याउने कट्टेलको भनाई छ । उनी निर्वाचित भएपछि यो नियम लागू गर्नेछन् । कर तिर्न बाँकी र नक्सा पास नगर्नेलाई करको दायरामा ल्याउने उनको भनाइ छ । तर स्थानीयलाई ठूलो जरिवाना तथा अप्ठेरो नपारी छुटसहित सो काम गरिने छ।

घर–घरमा खानपानी पुर्‍याइने
महालक्ष्मी नगरपालिकामा खानेपानीको समस्या पनि उस्तै छ । यहाँका करिब ४० प्रतिशत मानिस ट्याङ्करको पानीमा निर्भर छन् । यस क्षेत्रमा मुल महानजस्ता पानीका स्रोत भएतापनि त्यसलाई प्रयोगमा नल्याउँदा स्थानीय स्तरमा पानीको हाहाकार भएको हो । कट्टेलले आफूू निर्वाचित भएपछि खानेपानीको समस्या हल गर्ने बताएका छन् । उनले यहाँ भएका मुल मुहान र खोलाको पानीलाई प्रशोधन गरेर भए पनि निर्वाचित भएको एक वर्षमा खानेपानीको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रशासनिक भवन ६ महिनाभित्रमा शिलान्यास गर्ने
नगरपालिका हाल प्रशासनिक भवनविहीन छ । पाँच वर्षे कार्यकालमा पनि यसअघिका जनप्रतिनिधिले भवन निर्माण गरेनन् । नगरपालिकाको आफ्नै जग्गा भएता पनि त्यसमा जग हाल्ने कामसमेत भएन । आफू निर्वाचित भएको ६ महिनाभित्रमा नगरपालिकाको प्रशासनिक भवन निर्माण गर्ने कट्टेलले प्रतिवद्धता गरेका छन् । उनले कार्यालयका काम र सेवा प्रवाहलाई सहज बनाउनको लागि आफ्नै भवन चाहिने भएकोले त्यसलाई आफूले प्राथमिकतामा राखिने बताए। हाल नगरपालिकाको कार्यालय भाडाका भवनमा छ । जसका कारण सेवा प्रवाहमा कठिन भइरहेको छ ।

याे पनि पढ्नुस  जेठ ५ भित्रै स्थानीय तहकाे निर्वाचन हुने प्रधानमन्त्री देउवाकाे घाेषणा

प्राथमिकमतामा राखेका अन्य योजनाहरु
उनी चुनावमा नयाँ एजेण्डा लिएका आएका छन् । यसअघिका जनप्रतिनिधिले पूरा गर्न नसकेका र नदेखेका विकासका योजना र एजेण्डालाई उनले आट्टनो प्रतिवद्धता पत्रमा समावेश गरेका छन् ।
महालक्ष्मी क्षेत्रमा पर्यटन विकास, स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने, सम्पदा संरक्षण र भित्री सहरको व्यवस्थापनलाई उनले पाँच वर्षमा आफूले गर्ने मुख्य कामभित्र समेटेका छन् । आफू उम्मेदवार भए नगरपालिकाको शिक्षा क्षेत्रलाई पनि सुधार गर्ने उनको योजना छ । त्यस्तै, रोजगार सिर्जना गर्ने, परम्परागत हस्तकलाका सामानलाई बजारीकरण गर्ने, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनेलगायत योजना पनि उनको घोषणा पत्रमा समावेश छन् ।
उनले आफू निर्वाचित भए नगरपालिकाभित्रको प्रशासनिक सुधार गर्ने, योजनालाई पनि अघि सारेका छन् । त्यस्तै भित्री सहरमा देखिएका खानेपानी, ढल र सडकको समस्या पनि समाधान गर्ने उनको योजना छ । त्यसबाहेक लाकुरीभञ्ज्याङलाई थप व्यवस्थित पारी पाटन क्षेत्रमा आएका पर्यटकलाई उक्त क्षेत्रमा पनि घुमाउने कार्यक्रम बनाइने छ ।

कमेन्ट गर्नुहोस्