को हुन प्रहरी प्रमुख बन्न सफल धीरजप्रताप सिंह ?

काठमाडौँ, वैशाख १८ गते। नेपाल सरकारले नेपाल प्रहरीको २९ औँ महानिरीक्षक पदमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हाे ।

सिंह नेपाल प्रहरीको सेवामा ११ चैत २०४९ मा प्रवेश गर्नुभएको हो। सेवा प्रवेश गर्दा नै नम्बर एक बन्न सफल सिंह हाल नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख हुन ।

महानिरीक्षक पदमा नियुक्त भएसँगै गृह मन्त्रालयले आयोजना गरेको विदाइ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री बालकृष्ण खाणले सिंहको कार्यकाल सफल भएको चर्चा गरे।

गृहमन्त्रीले भने, ‘‘हाम्रो कारणले कहिलेकाहीँ विवादमा आउनुभयो होला तर आफ्नो कार्यक्षेत्र र जिम्मेवारीका कारण कुनै पनि विवादमा आउनुभएन।’’

बढुवा हुने क्रममा सिंहले प्रहरी उपरीक्षक (एसपी) पदमा बढुवासम्म अग्रता कायम राख्न सफल भएका थिए । २०६१ मा डीएसपी हुँदा पनि नम्बर एक नै बनेर बढुवा भएका उनी २०६९ मा एसपी हुँदा पनि पहिलो नम्बर नै बन्न सफल भएका थिए ।

वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) बढुवा हुँदा दोस्रो नम्बरमा परेका उनी तत्कालीन सरकारले सिंहभन्दा दुई ब्याचपछिका विश्वराज पोखरेललाई अगाडि बढाएकाले पछि परेका थिए । अहिलेको सरकारले विगतको सरकारले गरेको गल्तीलाई सच्चाएर सिंहलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।

सिंह नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा रहँदा उनकाे नेतृत्व अब्बल मानिएको छ। जोखिमयुक्त ठाउँको कमाण्ड सम्हालेर अगाडि बढ्न उहाँ सफल हुनुभएको छ। सिंह प्रहरीमा व्यावसायिक र निडर प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।

महानगरीय अपराध महाशाखामा रहँदा ठूला अपराध घटनाको सफल अनुसन्धान गरेर कतिपय हत्या योजनालाई विफल पार्न सफल सिंहले उपत्यकामा हुने अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निर्वाह गरे।

प्रदेश प्रहरी कार्यालय जनकपुरमा रहँदा तस्करी रोक्न सफल सिंह केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा रहँदा ललिता निवास प्रकरण, सिभिल सहकारी हिनामिनालगायत दर्जनौँ बैङ्किङ कसुर तथा अपराधको अनुसन्धानमा संलग्न रहेका थिए

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्दा राजनीतिक प्रभावका कारण सिंहलाई पछाडि पारिए पनि सफल अनुसन्धानबाट सिंहले आफ्नो कार्य सम्पादनलाई प्रहरीमा दोस्रो स्थानमा झर्न दिएनन्।

शिक्षा र तालिम

सिंहले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन। सुरक्षा र व्यवस्थापन सम्बन्धी विभिन्न तालिम लिएका उनीसँग अपराध अनुसन्धान, व्यवस्थापन, विशेष व्यक्तिको सुरक्षा, मानवस्रोत व्यवस्थापन सम्बन्धी तालिम लिएको अनुभव छ।

एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी र अमेरिकाबाट अपराध तालिम लिनुका साथै उहाँसँग शान्ति सुरक्षाका लागि पूर्वी टिमोर र सुडानमा गएर कामकाे समेत अनुभव छ।

विभागीय जिम्मेवारीका क्रममा उहाँले गोरखा, नुवाकोट, दोलखा, पर्सा र दाङ जिल्लामा प्रहरी प्रमुख भएर काम गर्नुभयो। सिंहले संघीय प्रहरी इकाई कार्यालय बागमती, महानगर अपराध महाशाखा, टेकु, लागू औषध नियन्त्रण ब्यूरो, कोटेश्वरसँगै डीआईजी बनेपछि प्रदेश प्रहरी कार्यालय, जनकपुर, अपराध अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्यूरोमा काम गरेका छन् ।

दैलेख जिल्लाको बिजौरामा स्थायी घर हुनुभएका सिंह प्रहरीभित्र तल्लो तहका कर्मचारीमा विशेष ध्यान दिने स्वभावका छन।

कमेन्ट गर्नुहोस्