पर्वतको मोदीमा गठबन्धनको चुनावी रौनक

कुश्मा। संयुक्त गठबन्धनको तर्फबाट निर्वाचनमा होमिएका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका सत्तारूढ दलहरूको गठबन्धनले पर्वतको मोदी गाउँपालिकामा चुनावी अभियान तीव्र पारेको छ ।
वैशाख १७ गते औपचारिक रूपमा सुरूवात गरिएको चुनावी कार्यक्रममा गठबन्धनका साझा उम्मेदवार र पार्टीका नेताहरूले आफ्नो साझा प्रतिवद्धतासहित चुनावी अभियानलाई तीव्रता दिएका हुन्। मोदीमा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका गुप्तबहादुर हमाल र उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर प्रसाईले संयुक्त उम्मेदवारी दिएका छन्।

वैशाख १७ गते पातीचौर बजारमा एक ¥यालीको आयोजना गरी गठबन्धनले चुनावी अभियानको थालनी गरेको थियो। उक्त ¥यालीमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलका सयौं नेता–कार्यकर्ता सहभागी थिए। चुनावी कार्यक्रमलाई अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाईसहितका नेताहरूले सम्वोधन गरेका थिए।

त्यसैगरि गठबन्धनले आइतबार मोदीको राम्जामा घरदैलोसहित चुनावी कोणसभा सम्पन्न गरेको थियो। घरदैलोमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारका साथै वडा नं.–७ को वडा अध्यक्षका प्रत्यासी नारायण गौतम लगायत वडा सदस्यका उम्मेदवारहरू सहभागी थिए।

आइतबार नै गठबन्धनका उम्मेदवारहरूले मोदीमा जन्मिएर पोखरामा बसोबास गर्ने पोखराबासीसँग अन्तरक्रिया गरेका थिए। अन्तरक्रियामा बुद्धिजीवी, सामाजिक अगुवा लगायतका व्यक्तित्वहरू सहभागी थिए। कार्यक्रममा सहभागीहरूले मोदी गाउँपालिकाले असल, कुशल र हेभीवेटका उम्मेदवारहरू पाएको भन्दै यसपटक गठबन्धनलाई जिताउने प्रतिवद्धता व्यक्त गरेका थिए।

संयुक्त गठबन्धनले सोमबार मोदीको चित्रेमा घरदैलो र चुनावी कोणसभा गरेको छ। सभामा अध्यक्षका उम्मेदवार हमाल, उपाध्यक्षका उम्मेदवार प्रसाई, माओवादी केन्द्रका नेताहरू सुदीप कुंवर, मनहरि तिमिल्सिना, उमाकान्त भुर्तेल लगायतका नेताहरू सहभागी थिए। कार्यक्रममा स्थानीयले गठबन्धनका उम्मेदवारहरूलाई चासोपूर्वक स्वागत गरेका थिए।

चुनावी कार्यक्रममा गठबन्धनका उम्मेदवारहरूले स्मार्ट मोदीको अवधारणा अघि सारेका छन्। संयुक्त गठबन्धनले साझा प्रतिवद्धतापत्र जारी गर्दै एक वडा, एक रोजगार केन्द्र, सरकारी विद्यालयका विद्यार्थीलाई निशुल्क स्वास्थ्य परीक्षण, घुम्ती एम्बुलेन्स सेवा, जेष्ठ नागरिक र अपांगहरूका लागि घरमै पुगेर स्वास्थ्य परीक्षणको व्यवस्था, मालपोत, विद्युत, पानी लगायतको दस्तुर घरबाटै भुक्तानी गर्न सकिने व्यवस्था, वडा केन्द्रसम्म जाने सबै सडकहरूको स्तरोन्नति र कालोपत्रे, एक घर एक धारा लगायतका अवधारणा अघि सारेको छ ।

त्यसैगरि सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने व्यवस्था, अत्याधुनिक अस्पताल निर्माण, कृषिमा मल, बिउ र सिँचाइमा विशेष अनुदान, चिस्यान केन्द्र, दूग्ध संकलन केन्द्र, तरकारी तथा फलफूल बजार, व्यवसायीसँगको सहकार्यमा सुपथ डिपार्टमेन्टल स्टोर लगायतको प्रतिवद्धता जाहेर गरेको छ।

मोदीका सबै गाउँहरूमा होमस्टेको स्तरवृद्धि, बहुसांस्कृतिक संग्रहालय निर्माण, सबै सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुने व्यवस्था, गाउँपालिकालाई ढुंगाखानीको गाउँपालिकाका रूपमा स्थापित गर्ने लगायतका विषयहरू प्रतिवद्धतामा छन्।

गठबन्धनले लोकतन्त्र र संविधानको रक्षा, समृद्धिको जग बसाल्न तथा जनताको जीवनमा सकारात्मक परिवर्तनका निम्ति आफ्ना उम्मेदवारलाई जिताउन घरदैलोका क्रममा अपील गरेको छ।

कमेन्ट गर्नुहोस्